गृहमन्त्री लामिछानेलाई मार्ग प्रशस्त गर्न सुझाव
मानव अधिकार तथा शान्ति समाजले उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले सहकारी घोटाला प्रकरणमा आफूमाथि छानबिन गर्न नैतिकताका आधारमा स्वंयले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ ।
आज विज्ञप्ति जारी गर्दै समाजले गृहमन्त्रीलाई नैतिकताको आधारमा स्वंय मार्ग प्रशस्त गर्न आग्रह गर्दै सहकारी घोटाला प्रकरणको सत्यतथ्य छानबिन गर्नसमेत माग गरेको छ ।
‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एंव प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ । नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।
समाजले केही भ्रष्टाचार, घोटाला प्रकरणमा अनुसन्धान भएतापनि सौदाबाजीका कारण मूल दोषीहरुले उन्मुक्ति पाउँदै आएको समेत बताएको छ । विज्ञप्तिमा उल्लेख छ ,‘सत्तारुढ नेकपा माओवादी केन्द्रका माथिल्लो तहका नेताहरु संलग्न सुनकाण्ड त्यसको पछिल्लो उदाहरण हो, जसमा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफूतिर सोझिएको सहकारी प्रकरणबाट उन्मुक्ति पाउन सौदाबाजी गरेको धारण शान्ति समाजको छ ।’
त्यस्तै, नेपाली कांग्रेसको नेतृत्वको नियत पनि आफ्नो परिवारका सदस्यमाथि कुनैपनि प्रकारको छानबिन नहोस् भन्ने सौदाबाजीको रणनीतिले प्रेरित भएको घटनाक्रमले देखाएको समाजले बताएको छ ।
सुशासन र सदाचार विपरित विभिन्न घोटालाका मूल दोषीहरुलाई उन्मुक्ति दिने गरी हुर्किरहेको सौदाबाजीको घिनलाग्दो राजनीतिको शान्ति समाजले निन्दा गरेको छ ।
टिप्पणीहरू