कहाँबाट बटुलिन् कुश्माले करोडौँ

कहाँबाट बटुलिन् कुश्माले करोडौँ
सुन्नुहोस्

पाँच वर्ष जनप्रतिनिधि रहँदा करोडौंको श्री सम्पत्ति जोड्न सफल एक पूर्वएमालेविरुद्ध वर्तमान एमाले र कांग्रेसकै टोली उजुरी बोकेर अड्डा धाइरहेका छन् । चार तारे किल्लामा पुगेकी उनले ५ वर्षको अवधिमा आर्जित धनले भक्तपुरदेखि भीमदत्त नगरपालिकासम्मै जग्गा जोडेको प्रमाणसहित पुल्चोक र टंगालमा निवेदन दर्ता गरिएको छ । शिक्षण हुँदै राजनीतिमा होमिएकी कुश्मा चन्दविरुद्ध बैतडीका एमाले र कांग्रेसका टोली अख्तियार र सम्पत्ति शुद्धीकरणमा पुगेका हुन् । 

३६ वर्षअघि पञ्चेश्वर गाउँपालिका–४, निंगलाडमा जन्मिएकी हुन् कुस्मा । मास्टरी छाडेर राजनीतिमा लागेपछि सदैव मालामाल । अघिल्लो पटक शिवनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भइन्, एमालेबाट तर राष्ट्रिय सभा निर्वाचनमा एमालेकै उम्मेदवारलाई घात गरिन् । बदलामा निलम्बनमा परिन् । कम्युनिष्टको कारबाहीमा परेपछि छाडिन् लालकिल्ला, रोजिन् जय नेपालवाला पार्टी । चन्दले जनप्रतिनिधिबाट बाहिरिएपछि भक्तपुरमा १ करोड २० लाखमा जग्गा किनेको प्रमाण भेटिएको छ ।

ताथली–३, भक्तपुरका ६ आना (६५१ कि.नं.) जमिन (करिब १ करोड २० लाख) कैलपाल– ४ बैतडी बस्ने रमेशदत्त पाण्डेयको छोरा तिलकबाट वैशाख ११ गते खरिद गरेको प्रमाण सो टोलीले पेश गरेको छ । यस अलावा भीमदत्त न.पा. वडा नं. ५, कञ्चनपुरमा १३४.७८ ब.मि.क्षे.फ. (२४९० कि.नं.) को जमिन (करिब १० लाख) भीमदत्त न.पा. बस्ने चिमडी चन्दको छोरा भानबहादुरबाट खरिद गरेको अर्काे विवरण पनि पेश भएको छ ।

यस्तै, भीमदत्त न.पा. वडा नं. ५, कञ्चनपुरमा १४५.८० र २४.५० ब.मि.क्षे.फ. (२१२३ र २१२५ कि.नं.जमिन र २ तले (५ कोठा) को घरसहित (करिब ५० लाख) भीमदत्त न.पा. वडा नं. ५, कञ्चनपुर बस्ने विखराम चन्दको छोरा गम्भीरबाट उनी जनप्रतिनिधि निर्वाचित भएकै दुई वर्षपछि खरिद गरेको भेटिएको छ । अख्तियार र सम्पत्ति शुद्धीकरण छल्न उक्त सम्पत्ति पञ्चेश्वर–४, बैतडी बस्ने दाइ शेरबहादुरको छोरा प्रकाश (नागरिकता नं. ११३९५) को नाममा पास गराएको प्रमाण छ, उक्त टोलीसँग । यस्तै शिवनाथ गा.पा. वडा नं. ५ बैतडीमा (करिब ६० लाख) को पक्की घर (करिब ८ कोठा) निर्माण गरी निजको ससुरा कर्णबहादुर चन्दको नाममा राजीनामा पास गराएको भेटिएको छ । उनको नाममा झण्डै ७० लाखको जेसिभी एक्साभेटर खरिद गरी हाल सञ्चालनमा छ । 

देखिँदो आम्दानीको स्रोत अरू छैन । परिवारका अन्य सदस्य रोजगारीमा छैनन् । छोराछोरीको पठनपाठनमै मासिक १५ हजारभन्दा बढी खर्च हुन्छ तर पाँच वर्ष जनप्रतिनिधि चलाएर निस्किएकी चन्दसँग कहाँबाट आयो करोडौंको सम्पत्ति ? जनआस्थासँग भेटिएका सोही ठाउँका स्थानीय नेताले प्रश्न गरे । उसो त पछिल्लो समय कर्मचारी मात्र होइन, जनप्रतिनिधि नै अख्तियारमा पर्ने क्रम जारी छ । चालु वर्षको माघसम्म ८ पालिकाका १२ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू