पशुसेवा विज्ञ भ्रष्टाचारमा संलग्न

पशुसेवा विज्ञ भ्रष्टाचारमा संलग्न

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित छ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाइएको छ । 

आयोगका अनुसार यादवसहित तत्कालीन योजना प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ । 

चक्रघट्टा गाउँपालिका–९, गोइयाहीमा सञ्चालित आम्रपाली सहकारीलाई कृषि सेड निर्माणको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट रकम उपलब्ध गराएकोमा उनीहरुको मिलेमतोमा हिनामिना तथा भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ । 

‘कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्यांकन गराई आम्रपाली बहुमुखी सहकारी संस्थाले पेश गरेको नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी नगराई स्वीकृत गरी ९ लाख ७७ हजार १६ रुपैयाँ भुक्तानी दिइएको,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को कसुर गरेको देखिएको उल्लेख गर्दै दायर मुद्दामा सोही ऐनबमोजिम जरिवाना तथा कैद हुन र उक्त रकम जफत गर्न समेत मागदाबी गरिएको छ ।

टिप्पणीहरू