संसदीय समिति गठनको मागबाट टसमस भएन काँग्रेस
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सहकारी ठागी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानवीन गर्न संसदीय छानवीन समिति गठनको माग कायमै राखेको छ ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सो पार्टीका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि नैतिक प्रश्न उठेकाले त्यस सम्बन्धमा छानविन नहुँदासम्म संसद चल्न नदिने अडान राखे । छानबिन भइरहेको व्यक्तिलाई नै गृहमन्त्रीको कुर्सीमा राखेर सहकारी प्रकरण फासफुस पार्ने प्रयास भैरहेको उनको आशंका छ ।
प्रमुख प्रतिपक्षले उठाएका विषयप्रति गम्भीर हुने आग्रह गर्दै उनले संसदीय छानवीन समिति नबनेमा संसद अवरोध गर्ने तहसम्म पुग्ने चेतावनीसमेत दिएका छन् ।
'हामीले गम्भिर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ, संसदीय छानविन समिति बनोस् । संसद हामीलाई आवश्यक छ । प्रमुख प्रतिपक्षको रुपमा हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छौँ । जिम्मेवार पार्टीका साथीहरुलाई पनि यसप्रति गम्भिर हुन आग्रह गर्न चाहन्छौँ । सरकार यसप्रति गम्भिर बनोस् । संसदीय समिति बनाओस् । यो कुरा चाँडो भन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहने छौँ । जनताकोमा लिएर जानेछौँ । बाध्य भयौँ भने रोष्टम घेर्ने ठाउँमा पनि पुग्नसक्छौँ ’, सांसद गौतमले भने ।
प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले न्यायाधीश जस्तोगरी गृहमन्त्री लामिछानेलाई 'क्लिनचिट' दिएको बताउँदै उनले आक्रोश व्यक्त गरे । प्रधानमन्त्रीले 'ठूलो माछा'लाई काखिमा च्यापेर सानो माछा खोजेको उनको आरोप छ ।
टिप्पणीहरू