बाबुराम भट्टराईद्वारा आफै 'मूर्ख' ठहर

बाबुराम भट्टराईद्वारा आफै 'मूर्ख' ठहर

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टाराईले आफूलाई 'मूर्ख'को संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा एक लामो स्टाटससहित आफ्नै फोटो स्केच शेयर गर्दै उनले विम्बात्मक रुपमा आफूलाई मूर्ख भनेका हुन् । 

पञ्चायतदेखि हालसम्मको राजनीतिक अवस्थाको ब्याख्या गर्दै डा.भट्टराईले भनेका छन्,बाबुरामजस्ता केही 'मूर्ख'हरू नयाँ  ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्,तर त्यो अरण्यरोदन बनिरहेछ । '

अहिलेको राजनीतिक अवस्था निरकुंश पञ्चायती कालरात्री जस्तो भएको दावी गरेका उनले ०३३/०३४ सालतिर जस्तै जनतामा चरम निराशा छाएको र पार्टीहरु टुटफुटबाट गुज्रिरहेको बताएका छन् । 

बाबुरामको स्टाटस :

नयाँ पुस्तालाई थाहा नहुन सक्छ !  तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ । मण्डलेतन्त्रको बिगबिगी थियो । जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बिपी भित्र-बाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट  'गद्दार'  घोषित भएर एक्लिएका थिए । 

दिनदिनै रेडियोबाट समाचार आउथ्यो- आज प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस)का महामन्त्री पंचायत प्रवेश गरे ! भोलि प्रनेका (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी)का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे ! आदि इत्यादि !

मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे- राजाको निरंकुश 'पंचायती प्रजातन्त्र' सय बर्ष टिक्ने भयो !

अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए !  राजनीति अलि खुकुलो भयो । पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट  पार्टीमा फर्कन थाले । फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो ।

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा 'गद्दार' कै पगरी भिरेर संसारबाट विदा भए । बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे ।

दश बर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो  नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो । दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन र मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो ।

तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिकरसामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्। बाबुरामहरू जस्ता केही 'मूर्ख'हरू नयाँ  ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्, तर त्यो अरण्यरोदन बनिरहेछ !

के इतिहासको गति रोकिन्छ तर ?  भनिन्छ- हिस्टोरी रिपिट्स, बिकज् मेन रिपिट्स देयर मिस्टेक्स् । गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ !
 

टिप्पणीहरू