न्यायाधीश छान्ने ठाउँमा आपसी परिचय
सत्ता समीकरणमा परिवर्तन आएपछि एक महिनाको अवधिमा पहिलो पटक न्यायपरिषद बैठक बस्न लागेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा पदम गिरीलाई स्वागत गर्न परिषद बैठक डाकिएको बताइएको छ । आगामी बिहीबार राखिएको बैठकमा औपचारिक भेटघाट र परिचय कार्यक्रम राखिएको छ ।
यसबीच सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मनोज शर्माको इजलासबाट हालै भएको फैसलालाई पनि परिषदले नजिकबाट नियालेको बताइन्छ । विशेष अदालतबाट भ्रष्टाचार कसुरमा सजायप्राप्त काँग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने आदेश दिएपछि न्यायिक र कानुनी क्षेत्र तरंगित भएको छ । गुरुङमाथि महिला,बालबालिका तथा समाजकल्याणमन्त्री हुँदा भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा कौडीको दरमा भाडामा दिएकाले भ्रष्टाचारको मुद्दा लागेको हो ।
सर्वोच्चको उक्त फैसलाको पुनरावलोकन हुनसक्ने बताइएको छ । आदेशको पूर्ण पाठ प्राप्त भएपछि कसैले उजुर हालेमा पुनरावलोकनको निम्ति पूर्ण इजलासमा जानसक्ने सम्भावना उत्तिकै छ । तर,पूर्ण पाठ प्राप्त हुनै महिनौं लाग्ने भएकाले यतिखेर गुरुङको सांसद पद निलम्बन फुकुवा भएर नियमित काममासमेत लागिसकेका छन् ।
उता सिंगापुरमा अदालतको आदेशको पूर्ण पाठ सोही दिन उपलब्ध गराइने व्यवस्था छ । तर हाम्रोमा भने महिनौं लाग्ने परिपाटी हट्न सकेको छैन ।
टिप्पणीहरू