राजकुमारले छोडेपछि कर्णालीमा यामलालको भाग्य खुल्दै

राजकुमारले छोडेपछि कर्णालीमा यामलालको भाग्य खुल्दै

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पद छोड्ने घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शर्माले हिजो विश्वासको मत लिने तयारी गरेका थिए । तर, गठबन्धनका शीर्ष नेताहरुबीच प्रदेशको नेतृत्व भागबण्डा मिलाउँदा कर्णाली एमालेको भागमा परेपछि माओवादी केन्द्रका नेता शर्मा राजीनामा दिन बाध्य भएका हुन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएपनि विश्वासको मतसम्बन्धी प्रक्रिया शुरु भैसके जनाउँदै शुरुमा उनले पद नछोड्ने अडान लिएका थिए । तर, हिजो दिनभरको छलफलपछि अन्तत: उनी राजीनामा दिन तयार भए । सम्बोधनका क्रममा उनले आफूले गरेका उपलब्धिको चर्चासँगै केन्द्रको निर्देशनप्रति असन्तुष्टि व्यक्त गरे ।

कर्णालीमा अब एमालेको नेतृत्वमा माओवादीसमेत सम्मिलित नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । एमालेबाट सम्भवत: संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने छन् । 

प्रदेशसभाको अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुने प्रयासमा रहेका उनी तत्कालीन नेकपा हुँदै एमालेको विभाजनका कारण असफल भएका थिए । २०७९ को निर्वाचनलगत्तै पुन: मुख्यमन्त्री हुने उनको प्रयास थियो । तर, केन्द्रीय भागबण्डाअनुसार माओवादीको भागमा परेपछि कँडेलको प्रयास असफल भएको थियो । 

 

टिप्पणीहरू