एमालेमा अरु २० वर्ष कसैले आश नगरे हुन्छ - ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै दुई दशक आफू पार्टीमा सक्रिय रहने घोषणा गर्नुभएको छ ।
पार्टीको कास्की जिल्ला कमिटीको ११ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । ओलीले २० वर्षजति अरूलाई आश नगर्न पनि भन्नुभयो ।
एमाले बिनाको नेपाल र ओली बिनाको एमाले भनेर कतिपयले टिप्पणी गरेको भन्दै आक्रोशित हुनुभएका उहाँले भन्नुभयो, 'कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिए, यसो गथ्र्यौं, उसो गथ्र्यौं, लाग्या होला । मैले पोहोर परार भनेको थिएँ नि, जुँगा अलि काला-काला हुन थाले भनेर । अहिले मेरो कपाल सबै झरेको थियो, पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको छ । मैले भने नि २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ ।'
पार्टी र देशलाई ठिक बाटोमा अघि बढाएर मात्रै आफूले विश्रम लिने अध्यक्ष ओलीको भनाई छ । उहाँ भन्नुहुन्छ, 'नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनिमात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ । अहिले हामीलाई समय छैन, हामी व्यस्त छौँ ।'
विरोधीहरुलाई झिँगाको संज्ञा दिनुभएका ओलीले उनीहरुको सरापले एमाले झन बलियो भएर अघि बढ्ने दावी गर्नुभयो । आगामी चुनावमा पार्टीले बहुमत ल्याउने गरि अहिलेबाटै लागिपर्न पनि उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
टिप्पणीहरू