जति उमेर, त्यतिवटै फिल्म

सुन्नुहोस्

एक युवती, जसको भर्खर १८ वर्ष उमेर पुग्दै थियो । काठमाडौँमा जन्मिएकी र पढाईमा अब्बल । अझ भनौं कहिल्यै दोस्रो नभएकी ।

१६ वर्षअघि ती युवतीले ‘प्लस टु’ सकाइन् त्यो पनि विज्ञान संकायबाट । परिवारको सपना थियो, उनी डाक्टर बनेको हेर्ने । युवती पनि परिवारकै निर्देशनबमोजिम डाक्टरको लागि एमबिबिएस तयारी गर्न थालिन् ।  

तर एकदिन के भयो कुन्नी !

एउटा पसलमा राखिएको पत्रिकामा उनको नजर पर्यो । जहाँ ‘घिन्ताङ’ नामक रियालिटी शोको विज्ञापन थियो । शो प्रशारण हुन्थ्यो, एनटिभी प्सलबाट । 

युवतीले ‘अन दी स्पट’ उक्त रियालिटी शोमा भाग लिने निर्णय गरिन् । जब अडिसनमा उनी प्रतियोगी भएर उपस्थित भइन्, तब सबैको ध्यान खिच्न सफल भइन् ।

त्यही रियालिटी सोको क्रममा उनलाई एउटा म्युजिक भिडियोको अफर आयो । गीत थियो, अन्जु पन्तको ‘वनमा फुल्यो फूलैफूल’ । उनले अफर स्वीकार गर्दै कला र मनोरञ्जनको दुनियाँमा पहिलो पाइला चालिन् । 

गीत सार्वजनिक भएपछि भिडियोले बजारमा राम्रै चर्चा पायो । विभिन्न टेलिभिजनले बारम्बार उनै युवतीको अनुहार देखाउन थाल्यो । सर्वत्र उनबारे सोधखोज हुन थाल्यो ।

ती युवती थिइन्, अहिलेकी सफल र अब्बल अभिनेत्री केकी अधिकारी । यदाकदा उनी चञ्चल स्वभावकी देखिन्छन् । कहिले भने निकै गम्भीर । केकी कस्तो स्वभावकी पात्र हुन् ? मानिसलाई ठम्याउन सकस नै पर्छ । तर कलाकार भएकाले हुनुपर्छ, उनी आफूभित्र दुवै व्यक्तित्वको गुण भएको बताउँछिन् । 

‘म चञ्चल पनि छु, गम्भीर पनि । मभित्र दुवै व्यक्तित्व छ’, उनी भन्छिन्, ‘कोसँग खुलेर चञ्चल हुने र कोसँग गम्भीर हुने, त्यो परिस्थितिले सिर्जना गर्छ ।’ 

३४ वर्षमा ३४औं फिल्म 

२०७३ सालमा मण्डलामा ‘बोक्सीको घर’ नाटक मञ्चन भइरहेको थियो । त्यो नाट्यकर्मी सरिता गिरीको एकल नाटक थियो । संयोगवशः केकीले पनि त्यो नाटक हेर्न मौका पाइन् । 

नाटक सकिएपछि यस्तो भइदियो कि, सबै दर्शक उठेर थियटर बाहिर निस्के । तर केकी भने थियटरभित्र कुर्सीमै बसिरहिन् । एकोहोरो, सोचमग्न ।

‘त्यो नाटक एक घण्टाको थियो । बलियो विषयवस्तु उठाउँदा प्रायः मनोरञ्जन पक्ष हराउने सम्भावना हुन्छ, तर नाटकमा मनोरञ्जन र थ्रिलर सबै थियो’, उनी सम्झन्छिन्, ‘अन्तिममा बलियो मेसेज थियो । यो कथालाई धेरै दर्शकसम्म पुर्याउन पाए कस्तो हुन्थ्यो होला भनेर फिल्म बनाउने निर्णय लिएँ ।’ 

यो चलचित्र बनाउदै गर्दा केकीले ठूलै दुःख गरेको बताउँछिन् । करिब पाँच महिना वर्कशप चलाइन्, त्यो पनि हरेक दिन बिहान साँढे ५ बजे कीर्तिपुरको जंगलमा पुगेर ।

उनी वर्कशपका क्षणहरु सम्झँदै भन्छिन्, ‘वर्कशपले मलाई अभिनयप्रतिको अनुशासन सिकायो, जुन धेरै कलाकारमा छैन । बिहान साँढे ५ बजे कीर्तिपुरको जंगलमा गएर आफूलाई त्यो पात्रमा ढाल्ने अभ्यास गरेँ । मेरो पात्रको मनोदशा नै त्यस्तै थियो ।’ 

त्यसो त, उक्त चलचित्रको निर्देशक सुलक्षण भारती हुन् । भारतीबाट अभिनयमा प्रयोग गरिने विभिन्न ‘मुभमेन्ट’हरु सिकेको केकीको तर्क छ । उनी निर्देशक भारतीसँगको सहकार्यलाई सौभाग्य ठान्छिन्, ‘यसमा मेरो आवाज, हिँडाइ, चालचलन, हेराई, मनोदशा परिवर्तन गरेर पात्रको लागि शतप्रतिशत दिने प्रयास गरेकी छु, यसमा सुलक्षणजीको ठूलो हात छ ।’ 

रोचक पक्ष केकीको उमेर अहिले ३४ वर्ष पुगेको छ । ‘बोक्सीको घर’ पनि उनको ३४औँ चलचित्र हो । ३४ वर्षमा ३४औँ चलचित्र ! यो संयोग निकै कम कलाकारको लागि जुर्छ । 

यसअघि आफूले गरेका ३३ चलचित्रभन्दा यो चलचित्र नितान्त पृथक रहेको र आफूले सर्वाधिक दुःख गरेको केकीको दाबी छ । 

सार्वजनिक भएको टिजर र ट्रेलरले यो अन्धविश्वासको कथामा बनाइएको चलचित्रको भान पर्छ । तर चलचित्रले फगत अन्धविश्वास मात्र नभएर महिलाहिंसा र विभेद, समाजको पितृसत्तात्मक संरचना र वर्गीय खाडलको यथास्थिति देखाएको केकीको ठम्याई छ । 

चलचित्रमा केकी र सुलक्षणको अलावा सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको मुख्य भूमिका छ । 

वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेका चलचित्रलाई ‘दी टि फोल्क्स’ले वितरण गर्दैछ । 

टिप्पणीहरू