दस्तुर ४२ लाख,बेलायत पुग्नासाथ बिजोग

दस्तुर ४२ लाख,बेलायत पुग्नासाथ बिजोग
सुन्नुहोस्

लण्डन प्लमस्टिडका लालबहादुर बरालीले नेपालस्थित आफ्नो बैंक खातामा ४२ लाख रुपैयाँ हाल्न लगाएर बुटवलका अनिल श्रेष्ठलाई बेलायत ल्याएको तर,उक्त कम्पनी नै नक्कली रहेको तथ्य खुलेको बताइन्छ । 

काम र पैसा फिर्ता नदिएर बराली गायब भएको पीडितले बताएका छन् । बरालीले अनिलको टेलिफोन नम्बर नै ब्लक गरिदिएका छन् । बरालीले अनिल जस्ता झण्डै दर्जन नेपालीलाई बेलायत पुर्याएको अनुमान छ । 

ज्याक एण्ड जाम कंग्लोमेरेट लि. ले गत फेब्रुअरी २९ तारिखका दिन  अनिललाई पठाएको इमेलमा पहिले भनिएअनुसारको रोजगारी दिन नसकिने उल्लेख छ । बेलायती अध्यागमन नियमअनुसार,स्पोन्सर गरेको कम्पनीले काम नदिए ६० दिनभित्र अर्को कम्पनी खोजेर वर्क परमिट ट्रान्सफर गर्नुपर्ने अन्यथा नेपाल नै फर्कनुपर्ने प्रावधान छ । 

बरालीले शुरुमा केयर होमका लागि ४२ लाख नेपाली रुपैयाँ लाग्ने र काम सतप्रतिशत पक्का हुने आश्वासन दिँदै पेस्कीस्वरुप ३० लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए । अनिलले बरालीको ग्लोबल बैंकको खाता नम्बर १३६०७०१००२८४७७ मा गत असोज ३० गते बरालीले भनेअनुसारको रकम जम्मा गरिदिएको देखिन्छ ।

३० लाख रुपैयाँ बुझेको डेढ महिनापछि बरालीले केयर होममा प्रोसेस ढिला हुने भएकाले क्लिनिंग कम्पनीबाट छिटो गर्न लागिएको जानकारी दिएको अनिलले बताए । जसरी हुन्छ नेपालबाट बेलायत पुग्न चाहेकाले उनले ओके भनिदिए । त्यसपछि मेडस्टोन चाताममा रहेको कम्पनी ज्याक एण्ड जाम कंग्लोमेरेट लि. मार्फत् भीसा लिएर श्रेष्ठ बेलायत आएपछि मात्र पहिलेको  कम्पनी नै फेक रहेको वास्तविकता खुलेको हो । बरालीले भनेको कम्पनीको अफिस भेटिएन भने दलाल बराली गायब भइदिए।

पीडित श्रेष्ठ कानूनी उपचार खोज्ने निष्कर्षमा पुगेका छन् । श्रेष्ठले आफू ठगिएकोबारे शनिबार नेशनल क्राइम एजेन्सी र प्लमस्टिड प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

पीडित अनिलको बिलौना जस्ताको तस्तै  :

म अनिल श्रेष्ठ वर्ष २७,फोन नम्बर +४४७८२४१५७१८४ । वैदेशिक रोजगारका निमित्त भौंतारिरहेका बेला २०८० आश्विन महिनामा अनिशा मल्ल ठकुरी (फोन नं. ०७५०३५०३२६१) सँग भेट भयो । उहाँसँग साधारण चिनजान थियो,उहाँले मसँग एकजना दाइ हुनुहुन्छ,उहाँले युके कामदार भीसामा लानु हुन्छ भन्नुभयो ।  प्लमस्टिड १८० मार्माडोन रोड लन्डन एसइ १८, १ इक्यू, स्थायी बसोवास गर्दै आएका लालबहादुर बरालीसँग मेरो चिनजान गराइदिनु भयो ।

"मेरो कस लेटर (सिओएस) पत्रमा फेब्रुअरी ५ बाट काम उल्लेख भएकाले कम्पनी खोज्दै जाँदा त्यो कम्पनी नै रहेनछ । अस्टिन भन्ने कम्पनीको नाइजेरियन डाइरेक्टर रहेछ । इमेल र कम्पनीको गतिविधि सामाजिक सञ्जालमा क्रियाशील देखिन्छ तर मान्छे कोही कहीं भेटिँदैन ।"
 

बराली र मेरो कुरा भएअनुसार उहाँले केयर होममा जम्मा ४२ लाख नेपाली रुपैयाँ लाग्ने बताउँदै काम १०० प्रतिशत पक्का हुने प्रण गर्नुभयो र पेस्की स्वरुप जम्मा ३० लाख नेपाली रुपैयाँ जम्मा गर्न लगाउनुभयो । मैले ग्लोबल बैंकमा रहेको खाता नम्बर १३६०७०१००२८४७७ मा २०८०–०६–३० गते भनेअनुसारको पैसा जम्मा गरिदिएँ । ३० लाख रुपैयाँ लिएको डेढ महिनापछि केयर होममा वर्क परमिट लिन गाह्रो हुन्छ,क्लिनिङ कम्पनीमा काम गर्नु भन्यो । मैले नहुनुभन्दा त्यो पनि ठीकै हुन्छ, अप्लाइ गर्दिनु भनेँ । 

नेपालमा इन्स्योरेन्स् र बायोमेट्रिक अपोइन्टमेन्टवापत ७ लाख ६० हजार थप तिरेँ । 

त्यसको करिब दुई महिनापछि मेडस्टोन चाताममा रहेको कम्पनी ज्याक एण्ड जाम कंग्लोमेरेट लि. बाट मेरो भीसा लगाइदिने र काम त्यही कम्पनीमा बिजनेश सपोर्ट म्यानेजरका रुपमा हुने पक्का छ भन्नुभयो । बाँकी पैसा पुनः जम्मा गरिदिन भन्नुभयो । मैले विश्वासमा सबै पैसा जम्मा गरिदिएँ । सबै कागजपत्र ज्याक एण्ड जामबाट पठाइदिनु भयो र २०२४ फेब्रुअरी १ तारिख युकेको गेट्वीक विमानस्थलमा अवतरण भएँ । 

मेरो कस लेटर (सिओएस) पत्रमा फेब्रुअरी ५ बाट काम उल्लेख भएकाले कम्पनी खोज्दै जाँदा त्यो कम्पनी नै रहेनछ । अस्टिन भन्ने कम्पनीको नाइजेरियन डाइरेक्टर रहेछ । इमेल र कम्पनीको गतिविधि सामाजिक सञ्जालमा क्रियाशील देखिन्छ तर मान्छे कोही कहीं भेटिँदैन । शुरुमा त इन्डक्सन हुन्छ भनिएको थियो त्यो पनि भएन । इमेलमा मात्र कुरा गर्थे । मसँगै अरु दुई जना नेपाली पनि हुनुहुन्थ्यो तर उहाँहरु सम्पर्कमा हुनुहुन्न । 

अहिले आएर ज्याक एण्ड जाम कम्पनीले हामी पहिलाको शर्तअनुसार काम दिन सक्ने अवस्थामा छैनौं, ६० दिनभित्र अर्को स्पोन्सर खोज्नु भनेर इमेल आएको छ ।  

यो खबरले म विक्षिप्त बनेँ । त्यो खबर मैले लालबहादुर बरालीलाई पटक पटक जानकारी गराउंँदा उहाँ आफ्नो जिम्मेवारीबाट पन्छिनुभयो । म तिम्रो एजेन्ट होइन,मेरो खातामात्र प्रयोग गरिएको हो भन्दै पन्छिनुभयो । मेरा हरेक बिलौनाहरुलाई ख्याल नगरी धम्कीपूर्ण रुपमा तँ जे गर्न सक्छस् गर् भन्न थाल्नुभयो । 

उहाँको नियत शुरुदेखि नै गलत रहेछ । ह्वाट्सअपमा म्यासेज गर्दा पनि हेर्नेबित्तिकै हराउने मोड (डिसअपियरिङ) मा राखेर म्यासेज गर्नुहुन्थ्यो । दुई महिना भयो अहिले सम्पर्क नगरी मेरो नम्बर नै ब्लक गर्नुभएको छ ।

मैले यहाँ आएपछि बुझ्दै जाँदा लालबहादुर बराली एकदमै फ्रड तथा स्क्यामर हुनुहुँदोरहेछ । उहाँले मलगायत धेरै नेपालीलाई यस्तो झुठो फर्जी कागज बनाएर दुःख दिएको पाएँ । म त ठगिएँ ठगिएँ तर उहाँको वास्तविक चरित्र थाहा पाएपछि अरु नेपाली दाजुभाई, दिदी बहिनी नठगिउन् भनेर म सार्वजनिक रुपमा मिडियामा आएको छु, कानूनी उपचार खोज्ने निष्कर्षमा पुगेको छु । 

मेरो यूकेमा आफ्नो भन्ने कोही छैनन् । न्यायका लागि युके नेसनल क्राइम एजेन्सी, प्लमस्टिड पुलिस स्टेसन क्राइम सेक्सन, स्थानीय सांसदसम्म गएर  आफूलाई न्याय माग्ने निर्णय गरेर न्याय पाउने ठूलो आशाका साथ अगाडि बढेको जानकारी गराउँदछु । 

बेलायतमा वर्क परमिटको प्रलोभनमा हामी जस्ता युवालाई लाखौं तिराएर गायव हुने जमात ठूलो पो रहेछ । कृपया लालबहादुर जस्ता शोषकदेखि तपाईंहरु सबै होसियार रहनुहोला भन्ने निवेदन गर्दछु । नेपालबाट आउने बेला सचेत हुन अनुरोध गर्दछु ।

 

टिप्पणीहरू