सडक फोहोर पार्नेहरु महानगरको कारबाहीमा

सडक फोहोर पार्नेहरु महानगरको कारबाहीमा

वीरगञ्ज महानगरपालिकाले सडक पेटीमा फोहोर फाल्ने एउटा पसलसहित तीन जनालाई जरिवानाको कारबाही गरेको छ । घर र पसलबाट निस्किएको फोहोर सडकमा फालेका उनीहरुलाई महानगरले कारवाहीस्वरूप जरिवाना तिराएको हो । 

महानगरले ग्लेम्बर टेलर्सलाई १५ हजार, राजु गुप्तालाई पाँच हजार, शिव कुमारलाई तीन हजार, मनिस कुमारलाई एक हजार एक सय रुपैयाँ जरिवाना गरेको छ । 

टेलर्सले पसलबाट निस्किएको कपडाको टुक्रा जथाभावी फ्याँकेर सडक फोहोर पारेको महानगरको भनाइ छ । त्यस्तै, गुप्ताले आफ्नो घरको फोहोर अर्काको खाली जग्गामा लगेर फ्याँकेका हुन् । अन्य दुईलाई सडकपेटीमा फोहोर फालेबापत जरिवाना तिराइएको हो । 

सफा, स्वच्छ तथा सुन्दर वीरगञ्ज बनाउने अभियानमा रहेको महानगरले सडकमा फोहोर नफाल्न पटकपटक आग्रह गरिसकेको छ । तरपनि आफ्नो घर र संघसंस्थाबाट निस्किएको फोहोर सडकमा ल्याएर फ्याँक्ने क्रम रोकिएको छैन । 

महानगरले जथाभावी फोहोर गर्नेलाई सम्झाउने, बुझाउने र अटेर गरेको खण्डमा जरिवाना तिराउने गरेको छ ।

टिप्पणीहरू