काम छोडेर १६ प्रहरी महिनौँदेखि बेपत्ता

काम छोडेर १६ प्रहरी महिनौँदेखि बेपत्ता
सुन्नुहोस्

नेपाल प्रहरीले लामो समयदेखि काममा नफर्केका कर्मचारीहरुको खोजी थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुशी गैरहाजिर रहेका १६ जना कर्मचारीलाई यथासीघ्र सम्पर्कमा आउन भनेको हो । 

यसअघि पटक–पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा अटेरी गरेको भन्दै सात दिनको समय दिएर उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन प्रहरी मुख्यालयले सूचित गरेको छ । बाटोको म्यादबाहेक आगामी सात दिनभित्र गैरहाजिर रहनुको चित्त बुझ्रदो स्पष्टीकरणसहित उपस्थित नभए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा, तपाईँहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने,’ सूचनामा भनिएको छ । 

स्पष्टीकरण मागिएकामा प्राविधिक प्रहरी नायब निरीक्षक अप्सरा कुँवर, हवल्दार विकासकुमार खड्का, सहायक हवल्दार पर्वराज पाण्डे र महेन्द्र देवकोटा छन् । 

त्यस्तै, जवानहरु सन्तोष रोक्का, प्रताप गुरुङ, युवराज माझी, विकास श्रेष्ठ, ऋषिराम भण्डारी, सुदिप नेपाली, केशव कुमाल, माधव थापा, नरेश चन्द, प्राविधिक जवान शरद चौधरीसहित कार्यालय सहयोगी सुरज थापा मगर र सुनिलकुमार साह कानुलाई पनि स्पष्टीकरण पेश गर्न भनिएको छ ।

टिप्पणीहरू