कतारी अमिरका निम्ति के के हुँदैछ सुरक्षा तयारी ?

कतारी अमिरका निम्ति के के हुँदैछ सुरक्षा तयारी ?
सुन्नुहोस्

नेपालको दुई दिने औपचारिक भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।

नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी,नेपाल प्रहरी,नागरिक उड्डयन प्राधिकरण,विमानस्थल कार्यालय र अन्य सरोकारवाला निकायहरुको संयुक्त बैठकले सुरक्षा प्रवन्ध मिलाएको हो । बैठकले भीभीआइपी सुरक्षाका लागि विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको छ । 

जसअनुसार नेपाली सेनाको १४ नम्बर ब्रिगेड कालीदल बटालियनले विमानस्थलको सम्पूर्ण सुरक्षा कमाण्ड सम्हाल्नेछ । उसैको सुरक्षा रणनीतिअनुसार सशस्त्र प्रहरीको एउटा युनिटलाई २४ घण्टा हाईअलर्टमा राखिने छ । विमानस्थल र आसपासको क्षेत्रमा सुरक्षा निगारानी राख्ने कामको जिम्मा सशस्त्र पाएको छ । 

विमानदेखि भीभीआइपी कक्षसम्मको सुरक्षामा कालीदल बटालियनले तालिम प्राप्त कुकुर प्रयोग गर्नेछ । सबै सुरक्षा निकायले विमान र विमानस्थलको सुरक्षाका लागि आवश्यक समन्वय गर्नेछन् ।

त्यस्तै, सेनाको उड्डयन महानिर्देशनालयले विमानमा इन्धन भर्नेदेखि नमूना संकलन गर्नेछ । विमान पार्किङको व्यवस्थापनदेखि इन्धन भर्नेसम्मको काममा नेपाल एयरलाइन्सले सघाउनेछ । कतारी शेखको विशेष विमान १ नम्बर क्षेत्रमा  पार्किङ गरिनेछ । 

भीभीआइपीको भ्रमण अवधिभर नेपाल एयरलाइन्सका कर्मचारीहरु खटिने छन् । उनीहरूको नाम सूची पेश गर्न निर्देशन दिइएको छ । विमानदेखि भीभीआइपी कक्षसम्म आवश्यक पर्ने रातो कार्पेटको प्रवन्ध मिलाउने कामको जिम्मा पनि नेपाल एयरलाइन्सलाई नै दिइएको छ । 

त्यस्तैगरी, विमानस्थलस्थित भन्सार कार्यालयलाई आवश्यक काम छिटो सम्पन्न गर्न भनिएको छ । नेपाल आयल निगमले उड्डयन प्राधिकरण कार्यालयसँगको समन्वयमा समयमै इन्धन भर्ने र नमूना परीक्षणको व्यवस्था मिलाउनुपर्नेछ । 

विमानस्थलको आन्तरिक सुरक्षा समन्वय गर्ने जिम्मेवारी नागरिक उडड्यन प्राधिकरण,विमानस्थल कार्यालयले गर्नेछ ।  भीभीआइपी उडान सहज सञ्चालनका लागि अन्य एकाइहरूसँग आवश्यक समन्वयको काम पनि प्राधिकरणलाई नै तोकिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको भ्रमण गर्न लागेका कतारी शेख भोलि विशेष विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । उनी ए ३४०-५४१ विशेष विमानमा दोहाबाट सिधै दिउँसो २ बजे काठमाडौँ उत्रने कार्यक्रम छ ।

टिप्पणीहरू