तराईमा गर्मी बढ्दै, उच्च सतर्कता अपनाउन अनुरोध

तराईमा गर्मी बढ्दै, उच्च सतर्कता अपनाउन अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईमा आगामी पाँच दिन तातो हावाको सम्भावना रहेको जनाउँदै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

प्राधिकरणले आगामी शुक्रबारसम्म तराईका भू–भागहरुमा तातो हावा तथा लुको सम्भावना रहेकाले विशेषतः बालबालिकालाई उच्च सतर्कता अपनाउन भनेको छ । 

प्राधिकरणले घरबाट हिँड्दा साथमा पानीको बोतल बोक्न, कागती, नरिवल पानी तथा ताजा फलफूलको रस नियमित रुपमा सेवन गर्न सुझाएको छ । त्यस्तै, हल्का रंगको सुतीको कपडा लगाउन, टाउको ढाकी राख्न कपडा, टोपीको प्रयोग गर्न, पत्रु खाना नखान र ताजा फल, सलाद वा घरमै बनाएको खानेकुरा खान पनि आग्रह गरेको छ । 

बालबालिकालाई दिउँसो १२ बजेदेखि ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिन, बिहान वा साँझको समयमा मात्र खेल्न दिन र रिंगटा, वान्ता, टाउको दुख्ने वा सास फेर्न अफ्ठ्यारो हुनेजस्ता समस्या भएमा तुरुन्त नजिकैको अस्पताल तथा स्वास्थ्य चौकी लैजान भनिएको छ । 

प्राधिकरणले पहाडी भू–भागका उपत्यका तथा खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

टिप्पणीहरू