पाँच वर्षमा पूरा हुने भनिएको सुरुङ्गको काम दुई वर्षमा १२ प्रतिशत

पाँच वर्षमा पूरा हुने भनिएको सुरुङ्गको काम दुई वर्षमा १२ प्रतिशत
सुन्नुहोस्

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति सुस्त गतिमा अघि बढेको छ । निर्माण कम्पनीको उदासिनताका कारण 'मृत्युमार्ग'ले समेत परिचित उक्त राजमार्गको स्तरोन्नतिमा ढिलासुस्ती भएको हो । 

अहिले सिद्धबाबा क्षेत्रमा सुरुङ्गमार्ग खन्ने काम भइरहेको छ । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्न परेपछि सरकारले सुरक्षित आवागमनका लागि सुरुङ्गमार्ग निर्माणको योजना बनाएको थियो । 

पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी वि.सं. २०७८ फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशनसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार २०८३ सालभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । तर, ठेक्का सम्झौता भएको दुई वर्ष नाघिसक्दासमेत सुरुङ्गमार्ग निर्माणको काम बल्ल १२ प्रतिशत मात्रै पूरा भएको छ । 

अप्ठेरो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मीटर सुरुङ्गमार्ग निर्माणको काम अघि बढेको छ । निर्माण कम्पनीले सुरुङ्गमार्गको डिजाइनमा एक वर्ष लगाउँदा काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । 

मुख्य सुरुङ्गमार्ग दक्षिण पोर्टलबाट ४५ मीटर खनिएको छ । त्यस्तै, उत्तरी पोर्टलतर्फ स्लोप काटेर ढलान गर्ने काम भइरहेको छ । दक्षिण र उत्तरतर्फको दुवै पोर्टल, निकासका लागि तीन वटा सुरुङ्ग, स्लोप कटिङ, स्लोप प्रोटेक्सनलगायतका काम एकसाथ अघि बढेको आयोजनाले जानकारी दिएको छ । 

१५ दशमलव ६ मीटरको पहिलो बाइपास टनेल, सात मीटरको दोस्रो बाइपास टनेल र चार मीटरको तेस्रो बाइपास टनेल खन्ने काम सम्पन्न भइसकेको छ । आकस्मिक अवस्थाका लागि सुरुङ्गबाट बाहिरी सडक जोड्ने गरी तीन–तीन सय मीटरको दूरीमा तीनवटा सहायक सुरुङ्ग बनाइएको छ ।

टिप्पणीहरू