राम्रो आम्दानीको प्रलोभनमा कुबेत पुर्याएर महिला बिक्री गरेको खुलासा
कुवेतमा राम्रो आम्दानीको प्रलोभन देखाएर महिला बेचबिखन गरेका एक व्यक्ति पक्राउ परेका छन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले कुवेतमा राम्रो आम्दानी हुने र वैदेशिक रोजगारीका लागि त्यहाँ पठाइदिने भन्दै बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ । बराकोटीले पीडित महिलालाई भिजिट भिसामा कुवेत पुर्याई कुवेती नागरिकको घरमा बेचबिखन गरी कमिसनसमेत लिएको प्रहरीको भनाई छ ।
आफूलाई नेपाल फिर्ता पठाइदिन पीडितले पटकपटक आग्रह गरेपछि प्रतिवादीहरुले पाँच लाख रुपैयाँ मागेका थिए । नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी तीन लाख रुपैयाँ जम्मा गरेपछि मात्र फर्काइएको थियो ।
गत फागुन २१ गते स्वदेश फर्किएपछि पीडितले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दरखास्त दिइन् । सो क्रममा आरोपित बराकोटीलाई अस्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू