बाहिर पसलमा औषधि, भित्रको अँध्यारो कुनामा लागूऔषध

बाहिर पसलमा औषधि, भित्रको अँध्यारो कुनामा लागूऔषध
सुन्नुहोस्

लागूऔषध बेचबिखन गरेको आरोपमा गत असोज १५ गते कास्कीको पोखरास्थित एक फार्मेसी सञ्चालक समातिए । रत्नचोकस्थित ‘शुभेक्षा फार्मेसी’ सञ्चालन गर्दै आएका ५८ वर्षीय मित्रलाल शर्मालाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो पोखराबाट संयुक्त रुपमा खटिएको टोलीले फार्मेसीमा छापा मारेको थियो । सो क्रममा झण्डै ८० लाख रुपैयाँ बराबरको ४५ हजार १८५ टेपेन्टाडोल हाइड्रोक्लोराइड क्यासुल बरामदसँगै उनलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको थियो ।

प्रतिबन्धित औषधिको कारोबार गरेपछि मोरङको बुढीगंगास्थित फार्मेसी सञ्चालन गर्दै आएकी गेनावती चौधरी प्रहरी पनि नियन्त्रणमा पुगिन् । बुढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित ‘जनसेवा मेडिकल’ मा गत साउन दोस्रो साता प्रहरीले छापा मारेको थियो । 

त्यसक्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरिएको हो । फार्मेसीबाट प्रेगाबलिन क्याप्सुल ३ सय २०, स्पासरेट १ सय ५२, ट्रमाडोल ३ सय ९ र डिकोलिक २ सय ११ ट्याब्लेट बरामद गरिएको विवरण प्रहरीले दिएको थियो । सोही अभियोगमा काठमाडौंको मित्रनगरस्थित ‘कविता फार्मेसी’ की सञ्चालक विनिता कुमाल पनि गत असारमा पक्राउ परिन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले फार्मेसीमा छापामार्दा साढे ६ सय ट्रामाडोल ट्याब्लेट फेला पर्यो ।

लागूऔषध कारोबारको सुराकीपछि लागूऔषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागको संयुक्त टोलीले गत वैशाख १२ गते उपत्यकाका दुई वटा औषधि पसलमा छापा मार्यो । काठमाडौंको कागेश्वरी नगरपालिका–८ स्थित ‘गोगो फार्मेसी’ र भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९, मा रहेको ‘टिसा फार्मेसी’ मा छापा हानिएको थियो । 

सो क्रममा टोलीले दुवै फार्मेसीमा डेकोलिक, एन्टिकोप, तापेनताडोल, ट्रेसडोल, ट्रामोल, पानडोल, त्रुपेन, ट्रयामनिल, ओपोट्यापलगायतका लागुऔषध फेला पारेको हो । साथै, गोगो फार्मेसीका सञ्चालक निरसकुमार महतो र टिसा फार्मेसीका सञ्चालक राजु सिपाई र कर्मचारी सतेन्द्र यादव पनि समातिए । 

रुपन्देहीको बुटवलमा केही महिनाअघि प्रतिबन्धित औषधि मिसावट गरी लागूऔषधका रुपमा बेचबिखन गरेको पाइयो । उक्त आरोपमा बुटवल उपमहानगरपालिका–११ स्थित ‘बैदवार फार्मेसी’ का सञ्चालक कमलबहादुर विक पक्राउ परेका हुन् । उनले डाक्टरको सिफारिसबिना औषधि बेचबिखन गर्नुका साथै प्रतिबन्धित विभिन्न औषधि मिलाएर लागूऔषधका रुपमा युवाहरुलाई बेचबिखन गरेको भेटिएको थियो । अवैध रुपमा औषधि बेचबिखन गरेपछि काठमाडौंको एक फार्मेसीमा शिलबन्दी गरियो । 

बूढानीलकण्ठ नगरपालिका–१०, आदर्शनगर चोकस्थित ‘लाइफ केयर फर्मा’ शिलबन्दी गरिएको हो । झण्डै एक वर्षअघि औषधि व्यवस्था विभाग र जिल्ला प्रहरी परिसरबाट संयुक्त रुपमा खटिएको टोलीले ती पसलको अनुगमन गर्दा उक्त फार्मेसीले गैरकानूनी रुपमा प्रतिबन्धित औषधि बेचबिखन गरेको पाइएको थियो । 

काठमाडौं महानगरपालिकाद्वारा गत वर्ष पुसमा गरिएको अनुगमनको क्रममा पनि दुई फार्मेसी शिलबन्दी गरियो । अनाधिकृत औषधीसहित म्याद गुज्रिएको औषधि बेचेको पाइएपछि महानगरले ठमेलमा रहेको ‘हिमालय स्टोर’ र महाराजगञ्जस्थित ‘माइबेनी मेडिकल’ शिल गरेको हो । 

त्यस्तै, महानगरद्वारा गत असारमा महाराजगञ्जस्थित टिचिङ हस्पिटलको प्राङ्गणमा रहेको पानोर्मा फार्मेसीमा आकस्मिक निरीक्षण गर्दा म्याद गुज्रिएका औषधि बेचेको पाएपछि आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागलाई पत्र पनि पठाइएको छ । 

फार्मेसी, मेडिकल लेखिएका स्थानमा औषधि बिक्री गरिन्छ । सामान्यतयाः औषधि बेचबिखन गर्ने व्यवसायलाई फार्मेसी भनिन्छ । कुनै पनि व्यक्ति बिरामी भएपछि औषधि लिन पुग्ने एक मात्र ठाउँ हो, फार्मेसी । तर, त्यहाँ म्याद गुज्रिएका औषधि बेचबिखन गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । 

अर्कोतर्फ, पछिल्ला केही वर्षयता फार्मेसी लागूऔषध कारोबारको ‘हब’ समेत बन्न थालेको छ । औषधि पसलको आडमा लागूऔषध किनबेच गर्ने क्रम बढ्दो छ । माथि उल्लेखित घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । अहिले यस्ता अवैध गतिविधि बढिरहेका छन् । 

मानिसका शरीरमा देखिने विभिन्न रोगका उपचारका लागि सरकारले स्वीकृति दिएका औषधि बिक्री गर्न सञ्चालन भइरहेका फार्मेसी अर्थात् औषधि पसल नै मानवीय स्वास्थ्य जोखिममा पार्ने लागूऔषध कारोबारमा संलग्न भएको एकपछि अर्को घटना बाहिरिएका छन् । यसले फार्मेसी व्यवसायप्रति आम नागरिकको हेराईमासमेत नकारात्मक असर पारेको छ । 

छिट्टै कमाउन फार्मेसीमा लागूऔषध कारोबार

लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्की छिट्टै कमाउने लोभमा फार्मेसी व्यवसायीहरु लागूऔषध कारोबारमा संलग्न हुने गरेको बताउँछन् । उनका अनुसार काठमाडौं उपत्यकासहित देशभरका अधिकांश फार्मेसीमा लागूऔषध कारोबार भएको भेटिएको छ । यद्यपि, केही वर्षयता ब्युरोले चलाएको अभियानपछि अहिले त्यस्ता कार्य घटेको उनको दाबी छ । 
‘केही वर्षअघि फार्मेसीहरुमा लागूऔषध कारोबार भइरहेको सुराकीपछि हामीले औषधि व्यवस्था विभागको समन्वयमा छापा मारेका थियौं । त्यसक्रममा त्यस्तो बदमासी भेटियो । हाम्रा कारबाहीपछि अहिले त्यस्ता कार्य एकहदसम्म घटेको छ,’ प्रवक्ता कार्कीले भने, ‘यद्यपि, अहिले पनि औषधि पसलहरुमा लागूऔषध कारोबार हुँदैन भनेर यकिनका साथ भन्न सकिँदैन ।’

यता, औषधि व्यवस्था विभागका सूचना अधिकारी प्रमोद केसी लागूऔषध नियन्त्रण ब्युरोसँग सहकार्य गरी लागूऔषध कारोबारमा संलग्न फार्मेसी तथा औषधि पसललाई कानूनको दायरामा ल्याउने गरेको बताउँछन् । पछिल्ला केही वर्षयता औषधि पसलको आडमा गैरकानूनी क्रियाकलाप बढिरहेको उल्लेख गर्दै उनले भने, ‘त्यस्ता कार्य गर्ने जुनसुकै व्यवसायीले कानूनी सजाय भोग्नैपर्छ ।’ 

त्यस्ता फार्मेसीलाई शिलबन्दी गर्नेदेखि दर्तासमेत खारेज गर्ने काम विभागले गर्दै आएको उनको दाबी छ । ‘केही दिनअघि मात्रै हामीले एउटा फार्मेसीलाई छ महिनाका लागि शिल गर्यो । लागूऔषध कारोबार भइरहेको पाइएपछि प्रहरीसँगको समन्वयमा सञ्चालकलाई पक्राउ गरी फार्मेसी शिल गरेका हौं,’ सूचना अधिकारी केसीले भने । 

विभागले फार्मेसीमाथि कारबाही गरेपनि सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गर्ने अधिकार भने प्रहरीकै हुने कानुनी प्रावधान छ । ‘हामीले प्रहरीसँगको सहकार्यमा अनुगमन गर्ने हो । त्यसक्रममा कुनै कैफियत भेटिएमा, लागूऔषध कारोबार भइरहेको पाइएमा हामी शिल गछौं । अनि त्यसपछिको कारबाही प्रहरीले नै गर्छ,’ केसीले भने ।

टिप्पणीहरू