अँगालो मार्ने पुरुष जम्मै असुरक्षित
‘हग’ गरेकै आधारमा पुरुषहरूलाई मुद्दा चलाउँदै जाने हो भने भोलि कोही पनि नेपाली दाजुभाइ बच्दैनन् ।’ राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यमाथि कारवाही प्रक्रिया अगाडि बढाउँदा महिला आयोगका आयुक्त कृष्णकुमारी खतिवडाले फरक मत राख्दै व्यक्त गरेको धारणा हो यो । सोको एक साता नबित्दै बैंकका डेपुटी गभर्नर फेरि महिला आयोग पुगिन्, त्यस पटक अर्का डेपुटी गभर्नर र ढकाल थरका कर्मचारीलाई पोलिएको थियो, यौन हिंसामा । तर त्यसमा महिला आयोगकै दुई आयुक्तले फरक मत राखिदिएको चर्चा चलाइयो ।
प्रमुख आयुक्त कमला पराजुलीको मत अल्पमतमा परे पनि सोही निर्णयलाई उछालेर राष्ट्र बैंकको आगामी गभर्नर बनाउने खेलमा संवैधानिक आयोगका पदाधिकारी नै सक्रिय भएको आरोप लाग्न थालेको छ । ती पदाधिकारीको काँधमा बन्दुक राखेर पड्काउने खेलोमेलोमा तिनै डेपुटी गभर्नर सक्रिय भएको बताइन्छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत तेस्रो सातामा सकिँदै छ । त्यहाँ जान ठिक्क परेका बिचौलिया दीपकका दाजु सुशील भट्ट पनि हुन्, जो यसअघि लगानी बोर्डमा थिए । अहिलेदेखि नै त्यहाँ जान प्रतिस्पर्धा शुरु भइसकेको र यो खेलोमा लागेकी डेपुटी गभर्नर झापाली हुन् ।
उसै पनि प्रधानमन्त्री ओलीले गर्ने राजनीतिक नियुक्तिमा झापालीहरू हावी हुने गरेका छन् । पहिलो महिला गभर्नर बन्न आफ्नै सहकर्मी बमबहादुर मिश्रलाई खुइल्याउने खेलोमेलोमा निलम लागेको भन्ने राष्ट्र बैंकको तल्लोदेखि उपल्लो तहसम्म गाइँगुइँ छ ।
प्रशासकीय अदालतबाट महिला दुव्र्यवहारको मुद्दामा बर्खास्तीमा परेका थानेश्वर आचार्यले सफाइ पाएकै दिन निलम डेपुटी गभर्नर मिश्र र हालै अनिवार्य अवकाशप्राप्त देवकुमार ढकालको विषयमा पुनः उजुर गर्न लगाएर गत महिना दक्षिणी छिमेकी मुलुकको दक्षिणतिर उडिन् ।
गत पुस २७ गते राष्ट्र बैंकले नगरकोटमा तनाव व्यवस्थापनसम्बन्धी आवासीय कार्यक्रम गरेको थियो । जहाँ बैंकका निर्देशक आचार्यमाथि डेपुटी गभर्नरलाई दुव्र्यवहार गरेको आरोप लाग्यो । सोपछि उनलाई जिम्मेवारीबाट हटाइएकोमा चैत्र ५ गते राष्ट्र बैंकले बर्खास्त गरेपछि उनी न्याय खोज्दै प्रशासकीय अदालत पुगे । सोही अदालतले बैंक सञ्चालक समितिको निर्णय बदर गरिदिएको हो ।
अदालतका अध्यक्ष डिल्लीराज घिमिरे, सदस्यद्वय रिता मैनाली र कृष्णप्रसाद पौडेलको पूर्ण इजलासले अघिल्लो मंगलबार फैसला गर्दै आचार्यको जागिर थामिदिएको छ । संयोगवश, उनले सफाइ पाएकै दिन महिला आयोगको हवाला दिएर डेपुटी गभर्नर मिश्र र कार्यकारी निर्देशक ढकाल दोषी देखिएको प्रतिवेदनको हवालामा नानाथरी विषय ह्वाङ्ग पार्दै डेपुटी गभर्नर निलम ढुंगाना बैंगलोर उडेकी हुन् ।
यता महिला आयोगमा पाँच आयुक्त छन् । तीमध्ये एक आयुक्त घर गइसकेकोमा कमला पराजुली र सावित्रीकुमारी शर्मा निलमको पक्षमा देखिए पनि फरक मत राख्दै आएको भनिन्छ । यस्तै–यस्तै घटनाक्रमका कारण प्रमुख आयुक्त कमला र कृष्णकुमारीबीच बोलचाल नै बन्द रहेको भनिएको छ । तर, पराजुली निकटस्थ स्रोतले भन्यो, ‘डेपुटीको विषय बाहिर आएजस्तो होइन । यसमा प्रमुख आयुक्त क्लियर हुनुहुन्छ । पराजुलीको हवाला दिएर बैंकको केन्द्रीय कार्यालयतिरबाटै अफवाह फैलाइएको निचोडमा उहाँ पुग्नुभएको छ ।’
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू