सिधा कुराका ‘समाचार स्रोत’ अदालतबाट प्रहरी हिरासतमा

सिधा कुराका ‘समाचार स्रोत’ अदालतबाट प्रहरी हिरासतमा

सर्वोच्च अदालतले ‘सिधा कुरा डटकम’ लाई अडियो उपलब्ध गराएका राजकुमार तिमिल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ । आज बयान नसकिएपछि न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले भोलि बिहान १० बजे उपस्थित गराउन आदेश दिँदै उनलाई प्रहरीको जिम्मा लगाएको छ । 

भोलि बिहान कार्यालय खुलेदेखि उनको बयानलाई निरन्तरता दिने सर्वोच्चले जनाएको छ । आदेशमा भनिएको छ,‘यस अदालतको आदेशानुसार आज बयानका लागि उपस्थित हुन आउनुभएका राजकुमार तिमिल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले मिति २०८१–१–२४ गते १० बजे उक्त बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनु ।’

त्यस्तै, अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई पनि भोलि बिहान १० बजे उपस्थित हुन भनिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र जिबी राईको सुनौलो परियोजना ‘ग्यालेक्सी फोर के’ मा प्रसारित सिधा कुरा कार्यक्रमको अनलाइन संस्करण ‘सिधा कुरा डटकम’ ले ‘द डार्क फाइल’ नामक कार्यक्रमबाट एउटा शंकास्पद अडियो सार्वजनिक गरेको थियो । 

‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकको समाचार सामग्रीमा उठाइएको विषयवस्तु कपोकल्पित र भ्रामक भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

टिप्पणीहरू