सुन्दरीहरु बेलायत बस्दै, नेपालीलाई कस्दै
बेलायतमा गोर्खा सैनिकको योगदानबाट नेपाली समुदायको समेत इज्जत बढेको मानिन्छ । बेलायत– नेपाल सम्बन्धका आधारस्तम्भ ब्रिटिश गोर्खा हुन् भनेर निकै गर्व गरिन्छ । तर, अब यो छवि विस्तारै धुमिल बन्दै गएकामा चिन्तित छन् अग्रजहरू । अचेल बेलायतको नेपाली समुदायमा ठगी र अपराधका घटना सामान्य हुन थालेका छन् । पछिल्लो पटक दुर्ई नेपाली महिला ठगी र अपराधमा जोडिएपछि समुदाय एकपटक फेरि तरंगित भएको छ । वर्क परमिट भिसामा ल्याउने बहानामा कैयौं युवाको करोडौं खाएको आरोप श्रीमती सुमन पुनमाथि लागेको छ भने आपराधिक समूहलाई ७० लाख रूपैयाँं ‘सुपारी’ दिएर नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि अन्धाधुन्द रड प्रहार गरी मार्न लगाएको आरोप सुन चाँदी व्यवसायी लक्ष्मी राईमाथि छ । गोर्खा सर्भिसेज लिमिटेडकी सिइओ तथा संस्थापक बताउने सुमन पुनले नेपालका ५० भन्दा बढी युवाबाट करोडौं रूपैयाँं लिएर पनि काम नगरिदिएको भन्दै पीडितहरू मिडियामा आएका छन् ।
बेलायतमा मान ट्राभल एण्ड टुर सर्भिसेज समेत सञ्चालन गरेकी सुमन केही महिनाअघि ठगी आरोपमा गिरफ्तार भएकी थिइन् । केही दिन थुनिएर अहिले धरौटीमा रिहा भएकी उनी अझै बेलायत प्रहरीको अनुसन्धान दायरामा छिन् । सुमनले दुर्ई वर्षअघि नेपालीका उल्लेख्य बसोबास रहेको रसमोर बरो काउन्सिलअन्तर्गत चेरिवुड वार्डका लागि कञ्जर्भेटिभ पार्टीका तर्फबाट उम्मेदवारी दिएकी थिइन् तर पराजित भइन् । एनआरएनए युकेमा समेत सक्रिय उनले समाजसेवाको आवरणमा पतिसँग मिलेर धेरैलाई ठगेको बताइन्छ । उता, सुनचाँदी व्यवसायी अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राईमाथि पनि गम्भीर आरोप आइलागेको छ । जोडिएको घट्ना गत कात्तिक ११ गते नेपालको हो । त्यस दिन लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा जग्गा व्यवसायी विक्रम लामामाथि चारजनाको समूहले अन्धाधुन्द रड प्रहार गरेको थियो ।
घटनालगत्तै परिसरको विशेष टोलीले नुवाकोटका शैलेन्द्र भनिने मार्शल तामाङलाई पक्राउ गरेको थियो । कात्तिक २९ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाबाट गोरखाका २९ वर्षीय निश्चल सुनुवारलाई पनि समात्यो । रड प्रहारको मुख्य योजनाकार भनिएका नुवाकोटकै अजय तामाङ र गोरखाका दीपक बरामु अझै फरार छन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, विक्रममाथि आक्रमण गर्न अजयले ठूलो ‘सुपारी’ पाएको आशंका छ र त्यो ७० लाख रूपैयाँं सुपारी दिने उनै लक्ष्मी राई रहेको जिकिर विक्रमका परिवारको छ । घाइते विक्रमका दाइ दिपेशले आफ्नी पूर्वश्रीमती लक्ष्मी राईको भूमिका शंकास्पद रहेको बताउँदै प्रहरी गुहारेका छन् । आक्रमणमा परेर गम्भीर घाइते भएका विक्रम लामाले आफ्नै पूर्व भाउजूले टिम परिचालन गरेर आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘पूर्व भाउजूले हत्या गर्ने उद्देश्यले आक्रमणकारी परिचालन गरेको विक्रमले हामीलाई बताएका छन् ।’
लक्ष्मी हाल युकेमा छिन् । विक्रममाथि आक्रमण भए लगत्तै उनी बेलायत पुगेको प्रहरीको भनाइ छ । भोजपुर घर भएकी ५० वर्षीया लक्ष्मी राईले विक्रमका दाइ दीपेश लामासँग १२ वर्षअघि बेलायतमै विवाह गरेकी थिइन् । तर, लक्ष्मीको शंकास्पद गतिविधि र खराब आचरणका कारण वैवाहिक सम्बन्ध टुटेको उनलाई चिन्नेहरू बताउँछन् । बेलायतको अल्डरसटमा न्यू लक्ष्मी ज्वेलर्स नामक सुनचाँदी पसल खोलेकी उनको अस्वाभाविक गतिविधि देखेर नेपाली समुदाय आश्चर्यचकित छ । उनले नेपालबाट बेलायत जाने हरेक कलाकार र लोकल पत्रकारहरूलाई आफ्नो पसलमा बोलाएर गरगहना उपहार दिंदै सम्मान गर्छिन् भने प्रायः नेपाली कार्यक्रममा उनीबाट राफल चिठ्ठाका लागि कम्तीमा एक तोला सुन प्रायोजन हुन्छ । एउटा सुनचाँदी पसल खोलेर अन्धाधुन्ध पैसा र सुन बाँड्ने हैसियत कसरी बन्यो युकेका नेपाली जिब्रो टोक्छन् । सतहमा व्यापार र समाजसेवा तर भित्र अर्कै दुर्ई नम्बरी धन्दा ? प्रहरीले अनुसन्धान गरिरहेको श्रोत बताउँछ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू