संगतले के-के भएँ, भएँ !

सुन्नुहोस्

पूर्वी नेपालको पाँचथरमा जन्मिएका हुन् उनी । मुन्धुम, पालम र ख्यालीका सुस्केराहरु गुनगुनाउँदै हुर्किए । जवान भएपछि काठमाडौँ आए, गोजीमा गीतका पंक्तिहरु बोकेर । 

त्यतिबेला उनको सपना थियो– गीतकार बनेर एल्बम निकाल्ने । तर, काठमाडौँ आएपछि कविहरुको संगतमा पुगे । र, कविताका विम्बहरुमा रमाउन थाले । त्यसपछि साहित्यमै बिस्तारै जमेका उनले पहिलो संग्रह निकाले, डाडाँमाथिको जून । 

गीतकार बन्न काठमाडौँ आएका उनी कविको परिचय बनाएर गाउँ फर्किए । यही क्षण जीवनको सुखद टर्निङ प्वाइन्ट थियो, उपेन्द्र बहादुर आङदेम्बे उर्फ उपेन्द्र सुब्बाको । त्यसैको निरन्तरताको परिणाम अहिले उनलाई सशक्त कविका रुपमा चिनिन्छ । तर, पछिल्लो समय सफल चलचित्र निर्देशकका रुपमा समेत उनको छुट्टै परिचय बनेको छ । 

०५७ सालदेखि सपना र रहरलाई पछ्याउदै आज सफलताको शिखर उक्लिँदै गरेका उपेन्द्र अलिकति गाउँसँग छुटे, अलिअलि साथीसँग अनि थोरै समुदायसँग । यद्यपि, त्यसैले आफ्नो व्यक्तित्व निर्माणमा सहयोग गरेको उनको अनुभव छ । 

‘कविता नलेखेर पालम गाउनेहरु ठुल्ठुला कवि छन् हौ हाम्रो गाउँमा’, विगत सम्झँदै पूर्वेली लवजमा उपेन्द्रले भने, ‘अरु समुदायका साथीहरुसँग नजोडिएको भए म पनि गाउँमै पालम गाउदै, मुन्धुम वाचन गर्दै ख्यालीमै रमाइरहेको हुन्थे होला ।’ 

मानिसको विचार निर्माणमा ऊ जन्मेको भूगोल, हुर्केको वातावरण र संगतले धेरै प्रभाव पार्छ । उपेन्द्रलाई पनि जन्मभूमि र समुदायले धेरै कुरा सिकायो । प्रेम र साथित्वमा जात र वर्ग छुट्याउन हुँदैन भन्ने सिकाई उनलाई त्यसबेलाको परिस्थिति र समुदायले सिकायो । आफ्नो बालपन स्मरण गर्दै उनी भन्छन्, ‘हाम्रोमा दु:ख भन्ने चिज थिएन । किनकि, त्यसबखत सुखिलो मान्छे नै कोही हुँदैनथ्यो । धनी भनिएकाहरुले पनि घाँसै काट्थे, गोठालो जान्थे । हामीले झन् गर्ने नै भइहाल्यौँ ।’ 

ठ्याक्कै कति वर्षदेखि कविता लेख्न शुरु गरे भन्ने उपेन्द्र आफैँलाई पनि थाहा छैन । तर, उनको अनुमान छ, ‘म १६/१७ वर्षको थिएँ होला हौ, जतिबेला भाषाको समस्या । कलेज पढ्दादेखि समुदाय छुट्दै गयो, मेरो कवितायात्रा पनि सुरु भयो । जे होस् आजसम्म निरन्तर भएर आयो ।’ 

गीतको एल्वम निकाल्न लाग्ने रकम महंगो भएपछि उनले कविता संग्रह निकालेको किस्सा रोचक छ । ‘तीन, चार वटा गीत रेकर्ड गराए, तर गीतभन्दा किताब निकाल्न सस्तो पर्दोरहेछ । त्यसपछि संग्रह बनाएर घर फर्के’, पहिलो पुस्तकको अनुभव उपेन्द्रले यसरी सुनाए । 

राजन मुकारुङ र श्रवण मुकारुङको संगतले कविता संग्रह निकाल्न प्रेरणा मिलेको उनी बताउछन् । त्यो संगतले नै कविता चेत बढ्दै गएको उपेन्द्रको भनाई छ । उनी थप्छन्, ‘श्रवण मुकारुङ, राजन मुकारुङहरुको संगतले गीतभन्दा कविता नै गहकिलो विषय हो कि भन्ने लाग्न थाल्यो । साथीहरुको गफ सुन्दा पनि गीतकार भन्दा कवि नै ठूलो हो भन्ने लागेर यता लागियो ।’ 

रामबाबु र दयाहाङसँगको सम्बन्ध 

अहिलेका सफल चलचित्र निर्देशक रामबाबु गुरुङसँग उपेन्द्रको पुरानै सम्बन्ध हो । त्यस्तै, अभिनेता दयाहाङ राईसँग पनि उनको चिनजान पहिलेबाटै थियो । दया भोजपुरबाट काठमाडौँ आएदेखि नै आफूहरु नजिक रहेको उनले सुनाए । 

कला साहित्यसँग जोडिएका यी तीनजनाको अलग-अलग विधालाई त्रिभुजका तीन विन्दुलाई रेखाले जोडेझैँ निर्देशन, नाटक र कविताले गाँसेको छ । कविता हुँदै चलचित्रतर्फ आफ्नो लगाव बढनुमा रामबाबु र दयालाई श्रेय दिन्छन् उपेन्द्र । भन्छन्, ‘उहाँहरुको संगतले नै हो मैले फिल्म यसरी बन्दोरहेछ भन्ने कुरा थाहा पाएको ।’ 

लजाउँदै देखाएको 'जारी', हिट भएपछि दबाब 

गत वर्षको उपेन्द्रको डेब्यु निर्देशन चलचित्र ‘जारी’ रिलिज भयो । जसले बक्स अफिसमा ०८० सालकै सर्वाधिक कमाइ गर्यो, १७ करोड हारहारीमा । सफलताको यत्रो चर्चा भैरहँदा चलचित्र निर्माणका क्रममा झेल्नुपरेका अभाव र संघर्षका कथा उपेन्द्रलाई मात्रै थाहा छ । 

यसअघिका चलचित्रहरुमा पटकथा लेख्दा–लेख्दा उनमा आफैँ निर्माता हुने रहर जागिसकेको थियो । उनी सुनाउछन्, ‘लेख्दा–लेख्दै निर्देशन गर्न मन लाग्यो । काम गर्दै जाँदा यसै सपना जाग्दो रहेछ, रहर हुँदो रहेछ ।’

तर, मनको रहर र मस्तिष्कको सपना पूरा गर्न कहाँ सजिलो हुन्थ्यो र ! ‘जारी’ बनाउने पक्का भइसकेपछि सुब्बाले थुप्रै बाधासँग जुध्नुपर्यो । 

करिब ६० जनाको टिमलाई काठमाडौँबाट पाँचथर पुर्याउनु, शुटिङका लागि आवश्यक पर्ने सबै सामाग्री जुटाउनु, भाडामा लिइएका सामाग्री प्रयोग नै नहुनु जस्ता कुराले उपेन्द्रलाई फिल्मका प्राविधिक कुरा सिकायो । जारी शुटिङ गर्दाको क्षण सम्झंदै उनी भन्छन्, ‘शुटिङका सामाग्री एकैचोटी हालियो, रेन्ट तिरेर । कुनै सामाग्री छुट्यो भने काठमाडौँ आउनै दुई दिन लाग्छ । फेरि कतिपय सामाग्री त प्रयोग नभएर फर्किए । त्यत्रो टिमलाई ३२ दिनसम्म व्यवस्थापन गर्नु पनि आफैँमा चुनौती हो ।’ 

गत वर्ष प्रदर्शनमा आएको जारी ०७६ सालमा शुटिङ भएको थियो । चार वर्षको बीचमा उपेन्द्रको फिल्मप्रति दृष्टिकोण र विचार परिवर्तन भइसकेको थियो । उनी भन्छन्, ‘यो बीचमा मेरो आफ्नै फिल्मलाई हेर्न दृष्टिकोण परिवर्तन भइसकेको थियो । दर्शकले मन पराउनुभयो, त्यो खुशीको कुरा हो । तर, मैले लजाउँदै नर्भस हुँदै दर्शकलाई देखाएको फिल्म हो जारी ।'

फिल्म हिट भएपछि यसको दोश्रो स्विक्वेन्स बनाउन अहिले उपेन्द्रलाई ठूलो दबाब छ । चलचित्र वितरक कम्पनी, हल सञ्चालक र दर्शकले जारीको दोश्रो भाग बनाउन आग्रह गरिरहेका छन् । तर, पहिलो भन्दा उत्कृष्ट बनाउनुपर्छ भन्नेमा दृढ रहेका उनी हतार गरिहाल्ने मूडमा छैनन् । कथा तयार भएपछि मात्रै औपाचारिक घोषण गर्ने उपेन्द्रको योजना छ । 

‘धेरै साथीहरुले दोश्रो भाग बनाउन आग्रह गरिरहनु भएको छ’, उनले भने, ‘तर मलाई एउटा चुनौती र दबाब के छ भने दोश्रो भागलाई जारीभन्दा राम्रो बनाउनै पर्नेहुन्छ ।’ 

'मनसरा'ले मन छुने विश्वास   

उपेन्द्र अहिले ५२ वर्षको भए । मसिना सपना देख्ने उनी कवि (खोलाको गीत) बने । कथाकार (लाटो पहाड) बने । कबड्डीको पटकथा लेखे । सफल निर्देशकका रुपमा जबर्जस्त परिचय बनिसकेको छ । 

अझै अरु सपना पनि छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘म ठूल्ठूला सपना देख्ने मान्छे होइन । सपना त सानो मसिना थियो । विदेश जाने, दुई चार पैसा कमाउने, परिवार पाल्ने । लेखक, निर्देशक बनुँला भन्ने सपना नै थिएन । यो त साथी संगतले के भएँ, भएँ ।’

उपेन्द्रको नयाँ चलचित्र 'मनसरा' प्रदर्शनमा आउँदैछ आगामी बैशाख २१ गते । फिल्मको पोस्टर, टिजर, ट्रेलरले दर्शकमा राम्रो हाइप बनाइसकेको देखिन्छ । यसको कथा र मेकिङमा शतप्रतिशत दिने प्रयास गरेको उनी बताउछन् । 

‘जारी बनाउँदा के-के अभाव थियो, तर मनसरा बनाउन अलि सजिलो भयो', भन्छन्, 'यसको कथा र मेकिङ धेरै सुधार्ने प्रयास गरेका छौ ।’ 

मनसरामा आफूले अलग–अलग समुदायको लभस्टोरी देखाउने प्रयास गरेको उपेन्द्रले बताए । आफूले ५० वर्षको उमेरसम्म बुझेको प्रेमलाई चलचित्रमा उतार्ने उनको प्रयास छ रे !

'कस्तो चलचित्र हो मनसरा ?' उनको जवाफ छ, ‘लभ स्टोरी हो, यो । नारी के हो ? नारीहरु पुरुषमार्फत कस्तो प्रेम चाहन्छन् ? र पुरुषहरुले नारीसँग के चाहन्छन् ? यसकै सेरोफेरामा छ ।’ 

उपेन्द्रको भनाईलाई आधार मान्ने हो भने हरेक मानिसलाई चाहिने भनेको प्रेम नै हो, जुन कोमल र हृदयी हुन्छ । मनसराको कथावस्तुको निचोड सुनाउँदै थप्छन्, ‘तपाईले अर्को मान्छेलाई दिन सकिने केही छ भने त्यो प्रेम नै हो । र, कसैबाट लिन सकिने केही चिज छ भने त्यो पनि प्रेम नै हो ।’
 
स्मरण रहोस्, मनसरामा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर, विप्लव प्रतीक, शान्ति गिरी, हेमन्त बुढाथोकी, जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटालगायतको अभिनय छ ।

टिप्पणीहरू