वायु प्रदूषण भयावह, गर्मी पनि चर्कंदै

वायु प्रदूषण भयावह, गर्मी पनि चर्कंदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो वायु प्रदूषण र गर्मीबाट जोगिन अनुरोध गरेको छ । मन्त्रालयले केही समययता मुलुकका विभिन्न भागमा वायु प्रदूषण र गर्मी बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने वल्र्ड एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा पुगेको छ । मन्त्रालयले वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सरको जोखिम बढाउने जनाएको छ । 

यसबाट कम तौल भएको वा अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत बढ्छ । नेपालमा वायु प्रदूषणबाट वर्षेनी हुने मृत्युमा धेरैजसो पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी र वृद्धवृद्धा उच्च जोखिममा छन् ।

यसले नेपालीको औसत आयु ४ दशमलब १ प्रतिशत वर्षले घटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका अनुसार नेपालमा रुग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण रहेको विविध तथ्य र अनुसन्धानले पुष्टि गरेको छ ।

वायु प्रदूषणबाट जोगिनका लागि बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, सकेसम्म अनावश्यक बाहिर ननिस्कन, यात्रा नगर्न, अत्याधिक प्रदूषित क्षेत्रबाट टाढा रहन मन्त्रालयको अनुरोध छ । त्यस्तै, तातो हावा र लुबाट जोगिन पनि अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न आग्रह गरिएको छ ।

टिप्पणीहरू