ओपिडी बन्द, अस्पतालमा बिरामीको धड्कन मन्द
जिल्ला अस्पताल, बैतडीका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । ड्युटी समयका अतिरिक्त र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएपछि चिकित्सक र कर्मचारी ओपिडी सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् ।
आजबाट ओपिडी सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए । अस्पतालमा कार्यरत झण्डै ९० जना कर्मचारीले अतिरिक्त र बिदामा सेवा गरेबापतको रकम भुक्तानी नपाएको उनको भनाइ छ । रकम माग गर्दै पटकपटक सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराइएपनि सुनुवाई नभएको उनको गुनासो छ ।
‘स्वास्थ्यकर्मी, प्रशासनलगायत सबै शाखाका कर्मचारीको गत भदौदेखिको रकम भुक्तानी हुन बाँकी छ । यसविषयमा सामाजिक सुरक्षा मन्त्रालयको पटकपटक ध्यानाकर्षण गराइसकेका छौं । चैतमा रकमान्तर भएपछि दिने भनिएको थियो । तर, अहिलेसम्म दिइएको छैन् । केही दिनअघि अल्टिमेटमसहितको ज्ञापनपत्र पनि बुझाइएको थियो । तैपनि रकम भुक्तानी नगरिएपछि आजबाट ओपिडी सेवा बन्द गरिएको हो’, उनले भने ।
ओपिडी सेवा बन्द रहेपनि आकस्मिक सेवा भने सञ्चालनमा रहेको उनले जानकारी दिए । भुक्तानी नपाएसम्म ओपिडी सेवा सञ्चालन नगर्ने आन्दोलित कर्मचारीहरुको अडान छ ।
टिप्पणीहरू