चुच्चे नक्सा सिक्कामा पहिले, नोटमा राख्दा किचलो अहिले
एक सय रुपैयाँ दरको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राख्ने सरकारको निर्णयबारे विभिन्न कोणबाट टिकाटिप्पणी भएको छ । वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकले २०७७ जेठ ७ गते सरकारले सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सासहित एक सय रुपैयाँको नोट छाप्ने निर्णय गरेपछि मुलुुकभित्र र बाहिर विभिन्न खालका चर्चा भएको हो ।
उक्त निर्णयप्रति छिमेकी मुलुक भारतले असन्तुष्टि जनाइसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘एकपक्षीय रुपमा चालिएका कदमले जमिनको यथार्थ नबदल्ने’ प्रतिक्रिया भोलिपल्टै दिएका थिए ।
यता, मुलुकभित्रै पनि दुईथरी धारणा सार्वजनिक भइरहेका छन् । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले केहि दिनअघि सरकारको उक्त निर्णय अनावश्यक ढङ्गको बहस र विवाद चर्काउने कुरा मात्र भएको उल्लेख गर्दै आलोचना गरेका थिए ।
सत्तारुढ दलहरुले भने नेपाली भूमि समेटिएको नयाँ नक्सा नेपालको नोटमा राख्ने विषयमा भारत सरकारले आपत्ति जनाउन आवश्यक नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार एवम् नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. चिरञ्जीवी नेपालले भने एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश गर्ने सरकारको निर्णयप्रति अचम्मसँग विरोध जनाएको पाइएको छ ।
उनले केही दिनअघि बीबीसी नेपाली सेवासँगको कुराकानीमा एक सय दरको नोटमा पुरानो बुच्चेको सट्टा चुच्चे नक्सा राख्ने सरकारको निर्णयलाई असान्दर्भिक र अविवेकी भनेका थिए । नेपालको उक्त भनाइको व्यापक विरोध भएको छ । जबकि २०७६ चैतसम्म गभर्नर पदमा कार्यरत उनि हटेको केही समयपछि नयाँ नक्सा सार्वजनिक गरिएको थियो । उनी गभर्नर छँदै सिक्काको डिजाइन कार्य सम्पन्न भएको थियो ।
२०७७ सालमा निष्कासन गरिएको एक रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा अंकित छ । चार वर्षअगाडि नै कार्यान्वयनमा आइसकेको विषयलाई अहिले आएर विरोध गर्नुको कुनै तुक देखिदैन ।
सिक्कामा लागू भइसकेको विषय नोटमा लागू गर्दा केवल तीललाई पहाड बनाइएको जानकारहरू बताउँछन् ।
टिप्पणीहरू