प्रधानमन्त्रीलाई पद छोड्न प्रचण्डको सुझाव
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा पद छोड्न सल्लाह दिनुभएको छ ।
विपक्षी दलहरुको संयुक्त वक्तव्य सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्ती ओलीले सरकारमा बसिराख्ने नैतिक अधिकार गुमाइसकेको दावी गर्नुभयो । ‘नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ’, प्रचण्डले भन्नुभयो, ‘यद्यपि, यसको अर्थ हामी सरकारमा जान हतारिएकाे भन्ने अर्थ चाहिँ लाग्दैन ।’
पूर्वप्रधानमन्त्री समेत रहुनभएका उहाँले तत्काल हिउँदे अधिवेशन आह्वान गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । नत्र विपक्षी दलहरु सडक संघर्षमा उत्रिने उहाँको चेतावनी छ ।
सरकारले जननिर्वाचित संसद छलेर अध्यादेश ल्याएकोमा आपत्ती जनाउँदै भन्नुभयो, ‘संसद्लाई छलेर दूरगामी असर पार्नेगरी ल्याएको यो अध्यादेशको विपक्षी दलहरूको तर्फबाट भर्त्सना गर्दछौँ । सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई पूरै अवरुद्ध गरेको छ । भ्रष्टाचारीलाई जोगाएको छ । भ्रष्टाचार बढाएको छ ।’
माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ६ विपक्षी दलको संयुक्त वक्तव्यमा पनि सरकारले ल्याएको अध्यादेशप्रति असहमति व्यक्त गरिएको छ ।
‘सरकारको यो कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति प्रदर्शन गरेको छ भन्ने हाम्रो ठहर छ’, वक्तव्यमा भनिएको छ, ‘हामी प्रतिपक्षी दलहरू सरकार र सत्तारुढ गठबन्धनका दलहरूको निहित स्वार्थ पूर्तिका लागि संसद्लाई छलेर राष्ट्रको दूरगामी भविष्यमा गम्भीर असर पार्ने प्रकृतिका कानुनहरू अध्यादेशमार्फत ल्याउने यो कदमको घोर भर्त्सना गर्दछौँ ।’
टिप्पणीहरू