समाजवादी प्रेस संगठनका अध्यक्ष निष्कासित, रकम हिनामिनाको गम्भीर आरोप

समाजवादी प्रेस संगठनका अध्यक्ष निष्कासित, रकम हिनामिनाको गम्भीर आरोप
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी कारबाहीमा परेका छन् । आर्थिक हिनामिना गर्नुका साथै संगठनको हित विपरित गतिविधि चलाएको आरोपमा उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ ।

सुवेदीमाथि संगठनको रकम आफूखुशी हिनामिना गरेको गम्भीर आरोप लागेको छ । वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले विज्ञप्ति जारी गर्दै विधानको धारा ७.१ बमोजिम साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको जानकारी दिएका छन् । 

त्यस्तै, सुवेदीले लामो समयसम्म संगठनको बैठक नबसाएको, नेपाल पत्रकार महासंघको हालैको निर्वाचनमा संगठनका उम्मेदवारहरुविरुद्ध लागेको र अध्यक्षको जिम्मेवारीमा रहेको व्यक्तिले निरन्तर संगठनविरुद्ध गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदीले लामो समयसम्म संगठनको बैठकसमेत नबसाएको, नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवारहरुका विरुद्ध लागेको, संगठनको रकम आफूखुशी हिनामिना गरेको, संगठनको केन्द्रीय कार्यालय बन्दगरी संगठनका विरुद्ध निरन्तर गतिविधि गरिरहेको हुनाले विधानको धारा ७.१ को (ग) बमोजिम साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।   

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ‘खुइलाएर’ उनले लेखेको एउटा समाचार नेपाल प्रेस न्युज पोर्टलमा प्रकाशित भएपछि पार्टी केन्द्रीय कार्यालयले हिजै उनीसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । एमाले प्रवेशको तयारीमा रहेका सुवेदीले भने पार्टीको आन्तरिक मामिलालाई समाजिक सञ्जालमा बहसको विषय बनाएका छन् । 

एमाले निकट पत्रकार संगठन प्रेस चौतारी प्रवेश गर्ने तयारीमा रहेका उनी भर्खरै स्वागत कार्यक्रममा उपस्थित भएको फोटो सार्वजनिक भएको छ ।

टिप्पणीहरू