पेट्रोलियम पदार्थको भाउ सँधै घटबढ
नेपाल आयल निगमले पछिल्लो साढे चार महिनामा १० पटक इन्धनको मूल्य समायोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटबढ हुँदा निगमले आन्तरिक बजारमा मूल्य समायोजन गर्छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)सँग इन्धन खरिद गर्दै आएको निगमले पछिल्लो पटक अस्ति रातिदेखि पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार गत भदौ १६ गते यताको यो दशौँ मूल्य समायोजन हो । जसमा पाँच पटक भाउ बढ्दा तीनचोटि घटेको छ भने दुई पटक मूल्य यथावत राखिएको छ ।
भदौ १६ गतेसम्म पेट्रोलको मूल्य प्रतिलिटर १६०.५ रुपैयाँ रहेकोमा १५ दिनपछि चार रुपैयाँ घटेर १५६.५ कायम भयो । असोज १४ गतेको मूल्य समायोजनमा भने प्रतिलिटर एक रुपैयाँ भाउ घटाइयो । कात्तिक ३० गते एक रुपेयाँ बढेर १५६.५ नै कायम भएको थियो ।
पुस १ गते निगमले फेरि प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको जानकारी गरायो । त्यसयता १६०.५० रुपैयाँमा कारोबार हुँदै आएकोमा हिजोदेखि पेट्रोलमा दुई रुपैयाँ बढाएको हो ।
डिजेलको हकमा भदौ ३१ गतेसम्म प्रतिलिटर १५१.५ कायम रहेकोमा असोज १४ गते सात रुपैयाँ घटाइयो । मंसिर १५ गते पुनः भाउ बढ्यो । पछिल्लो पटक प्रतिलिटर १५० बाट १५३ कायम भएको छ ।
कुन ठाउँमा सबैभन्दा महँगो ?
भारतीय आयल कर्पोरेसन (आइओसी)ले हरेक १५–१५ दिनमा नयाँ मूल्यदर पठाउने गरेको छ । त्यसमा भन्सार, ढुवानी, वितरणलगायतमा हुने खर्चसमेत जोडेर इन्धनको नयाँ मूल्य तय गरिन्छ ।
निगमले इन्धनको मूल्य तीन भागमा वर्गीकरण गरेको छ । पहिलो वर्गमा झापा, विराटनगर, जनकपुर, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्र छन् । त्यस्तै दोस्रोमा सुर्खेत र दाङलाई राखिएको छ । यस क्षेत्रमा दुई रुपैयाँ मूल्य बढी तोकिएको हुन्छ ।
तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल छन् । यी स्थानमा थप एक रुपैयाँ बढी भाउ तोकिने गरेकोे निगमले जनाएको छ ।
अर्थतन्त्रमा प्रभाव
इन्धनको मूल्य छिटो तलमाथि हुँदा मुलुकको अर्थतन्त्रमा असर पर्ने अर्थशास्त्रीहरुको विश्लेषण छ । इन्धनको भाउ घटबढ हुँदा खाद्यान्न, पूर्वाधार समाग्रीलगायत आयातजन्य वस्तुको ढुवानीमा प्रभाव पर्ने भएकाले समग्र अर्थतन्त्रमै ठूलो प्रभाव पर्ने उनीहरुको भनाई छ ।
इन्धनको मूल्य परिवर्तनले नागरिकको दैनिक जीवनलाई समेत प्रभाव पार्ने गरेको छ । सरकारले एक साताअघि सार्वजनिक यातायातको भाडा बढाएको प्रसंगको एउटा विश्लेषणमा भनिएको छ, ‘सरकारले हालै यात्रुवाहक र मालवाहक सवारी साधनको भाडा बढाएको उदाहरण हेरौँ । काठमाडौँबाट धनगढी जाने बसलाई कति इन्धन चाहिन्छ ? त्यो बराबरको पैसा यात्रुले तिर्नुपर्ने भाडामा जोडिन्छ । इन्धनको मूल्यले तपाईंले उपभोग गर्ने चामल, तरकारी, लत्ताकपडालगायत सबै सामानमा असर पार्दछ ।’
टिप्पणीहरू