भिआईपी सवारी महत्वपूर्ण कि जनता ?

सुन्नुहोस्

‘राष्ट्रपतिको सवारी ठूलो हो कि जनता ?’, रुसी सेनामा भर्ती भएका नेपाली नागरिकका परिवारका सदस्य र  आफन्तले प्रहरीलाई सोधेको प्रश्न हो यो । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । आफ्ना आफन्तको सकुशल उद्धारको माग गर्दै आन्दोलनमा उत्रिएका पीडित परिवारलाई प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार पुर्याउने गरेको छ ।

बालुवाटारस्थित रुसी दूतावासअगाडि अस्ति प्रदर्शनरत पीडित परिवारलाई प्रहरीले हट्न भनेपनि उनीहरु मानेनन् । त्यसपछि उनीहरुलाई पक्राउ गरेर गरेर प्रहरी वृत्त, सिंहदरबार पुर्यायो । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारी, सिरानी घर्ती, उषा खत्री, रोजी, पुन, देवेन्द्र भट्ट र मोहन भट्टलाई प्रहरीले पक्रेको थियो । 

उनीहरुको रिहाई माग गर्दै प्रहरी वृत्त पुगेका अभियानमा आबद्ध टोलीले त्यहिँ चर्को नाराबाजी गरे । सो क्रममा एक जना प्रहरी हवल्दारले राष्ट्रपतिको सवारी भएकाले उनीहरुलाई बालुवाटारको सडकबाट हटाउनुपरेको बताए । प्रहरीको भनाई छ, ‘हामी तपाईंको टोली छोडिदिन्छौं । शान्त हुनुस् । राष्ट्रपतिको सवारी आउने भएकाले हटाएका हौं ।’

त्यही बेला पीडितले प्रश्न गरिहाले,‘राष्ट्रपतिको सवारी ठूलो कि हामी पीडित जनता ?’ प्रहरीले जवाफ फर्काए, ‘हामीलाई राष्ट्रपतिको सवारी ठूलो हो ।’ प्रहरीको यो जवाफले उनीहरु झन् आक्रोशित भए । रुसी सेनामा भर्ती भएकालाई उद्धार गरिदिन आग्रह गर्दै तिनका परिवार लामो समयदेखि आन्दोलनरत छन् । तर, कतैबाट पनि सुनुवाई हुन सकेको छैन । 

मुलुकमा बढ्दो बेरोजगारीका कारण नेपालीहरु अवैध बाटोबाट पुगेर भएपनि रुसी सेनामा भर्ना भइरहेका छन् । जबकी भारत र बेलायतबाहेक अन्य मुलुकको सेनामा भर्ती हुन पाउने कानुनी व्यवस्था छैन । पैसा कमाउन हिँडेका नेपाली रुस–युक्रेनबीच जारी युद्धमा परेर अकालमा ज्यान गुमाइरहेका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म रुसी सेनामा भर्ती भएका ३६ जना नेपालीको मृत्यु भइसकेको छ । कहालीलाग्दो पक्ष चाँही पीडित परिवारले अहिलेसम्म उनीहरुको शवसमेत पाउन सकेका छैनन । 

रुस–युक्रेन युद्धपछि रुसले विदेशी नागरिकका लागि भर्ती खोल्दा नेपाली युवाहरु त्यहाँ गएका हुन् । दलालको लहैलहैमा ज्यान जोखिममा राख्दै त्यहाँ जाने क्रम जारी छ । 

सरकारले रुस–युक्रेनको श्रम स्वीकृति स्थगन गरेको छ । यद्यपि, कमजोर आर्थिक अवस्थाका कारण नेपालीहरु त्यता पुगिरहेका छन् । बढी तलब पाउने प्रलोभनमा उनीहरुले ज्यानकै बाजी राखेका छन् । रुसी सेनामा भर्ती भएकाहरुले युद्धमा ज्यान गुमाएको खबरहरु बाहिरिएपछि उनीहरुका आफन्त सडकमा आएका हुन् । 

सरकारले आफ्नो अभिभावकत्व पूरा गर्नुपर्ने उनीहरुको भनाइ छ । जुनसुकै माध्यमबाट गएको भएपनि सरकारले तिनलाई स्वदेश फर्काउन पहल गर्नुपर्ने भन्दै उनीहरु सामूहिक अनसनमा बसेका छन् । 

निरन्तर अनसनरत आफन्त

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको उद्दार गर्न माग गर्दै उनीहरुका आफन्त लामो समयदेखि आन्दोलनरत छन् । विगत तीन महिनादेखि उद्धारका लागि आवाज उठाउँदै आएका उनीहरुले वैशाख ७ गतेदेखि काठमाडौंको रत्नपार्कमा अनसन थालेका हुन् । 

१३ बुँदे मागसहित अनसन शुरु गरेका उनीहरुले हालसम्म सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै गुनासो पोखेका छन् । रुसी सेनामा रहेका नेपालीको उद्धारका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराइएपनि सुनुवाई नभएकाले अनसनमा बस्न बाध्य भएको उनीहरुको भनाई छ ।

१२ दिनदेखि अनसनरत पीडित परिवार सबैको एउटै स्वर छ, ‘रुसी सेनामा भर्ती भएका नेपाली नागरिकको उद्धार गर ।’ त्यस्तै, करार सम्झौता रद्द गरी उद्धारको पखाईमा रहेका नागरिकलाई पुनः युद्ध मैदानमा लगिएकोले तत्काल नेपाल ल्याउन, घाइतेको उचित उपचार, क्षतिपूर्ति, तलब, भत्ता उपलब्ध गराउन, युक्रेनको कब्जामा रहेका पाँच जनाको सकुशल उद्धार गर्न, मृतकको शव र क्षतिपूर्तिसहित रुसी सेनाबाट प्राप्त सबै खाले सेवासुविधा उपलब्ध गराउन पनि माग गरिएको छ । 

बेपत्ताको अवस्था खोजी गर्न विधि र प्रक्रिया घोषणा गरी कार्यान्वयन गर्न, रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्याङ्क सार्वजनिक गर्न, प्रलोभनमा पारेर रुस पठाउने र नेपाल ल्याइदिने वचनका साथ पैसा उठाउने बिचौलियालाई कारबाही गर्न, विभिन्न माध्यमबाट रुस गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्न, त्यहाँबाट फर्किएर आएका युवाको पुनस्र्थापना तथा पीडित परिवारको उचित हेरचाह गर्न र आफ्ना नागरिकलाई सैन्य सम्झौताबिना भर्ती नगर्नसमेत पीडित परिवार तथा आफन्तले माग गरेका छन् । 

अढाई सय नेपाली रुसी सेनामा

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार करिब अढाई सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ । उनीहरुलाई स्वदेश फर्काउन मन्त्रालयले लामो समयदेखि काम थालेको दाबी गर्छन् ।

‘दुई देशका अधिकारीहरुबीच लामो समयदेखि निरन्तर कुराकानी भइरहेको छ,’ उनले भने, ‘अहिले रुसले जो जो नेपाली फर्किन चान्हछन्, उनीहरुलाई फर्किन दिने सहमति पनि गरेको छ । तर, युद्धग्रस्त मुलुकमा भन्नासाथ केही नहुने हुँदा ढिलाई भएको हो ।’ 

जुनसुकै बाटो हुँदै रुस गएपनि आफ्ना नागरिकको जिम्मेवारी लिनु राज्यको दायित्व रहेको उल्लेख गर्दै उनले भने, ‘सरकार यो विषयमा गम्भीर छ । र, आफ्ना नागरिकको संरक्षण र जिम्मेवारी जसरी भएपनि लिन्छ र पूरा गर्छ नै ।’ प्रवक्ता राईले रुसी सेनामा आफ्ना कोही आफन्त, साथीभाई वा परिवारका कोही सदस्य भर्ना भएकोमा मन्त्रालयमा जतिसक्दो छिटो जानकारी गराउन समेत आग्रह गरेका छन् । 

नेपाली सेना छाडेका रुसी सेनामा

रुसी सेनामा भर्ती भएका नेपालीको उद्धारको माग गर्दै वैशाख ७ गतेदेखि अनसनमा बसिरहेकी रुकुमकी सिरानी घर्तीका श्रीमान माइतमान गत मंसिर १२ गतेदेखि सम्पर्कमा छैनन् । नेपाली सेनाको जागिर छोडेर १२ लाख रुपैयाँ खर्चिएर उनी गत कात्तिक ७ गते रुस पुगेका थिए । 

‘सेनाको जागिरले परिवार धान्न धौधौ पर्यो । अनि दलालीको लहैलहैमा लागेर उनी रुस जाने निर्णयमा पुगे । भिजिट भिसामा नेपालकै विमानस्थलबाट गएका हुन् । सरकारले स्वीकृति दिएपछि मात्रै विदेश गए । राज्यले अनुमति नदिएको भए जाने नै थिएनन्,’ उनले भनिन् । 
‘गत मंसिर १२ गतेदेखि उनी सम्पर्कमा छैनन् । हाम्रो बिजोग छ । जतिसुकै आन्दोलन गर्दा पनि राज्यले केही गर्दैन । यहाँ अनशन बसेको पनि १२ दिन भइसक्यो । तर, अहिलेसम्म कसैले पनि हाम्रा लागि सहयोग गरेको छैन । राज्य त हामीजस्ता जनताको अभिभावक हो । हामी छौं त राज्य छ । तर, हाम्रै मुद्दालाई सरकारले गम्भीर रुपमा लिएन,’ उनले थपिन् । 

रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार गर्न माग गर्दै आमरण अनसनमा बसिरहेका अर्का व्यक्ति हुन्, सुर्खेतका किसन थापा । उनका सालो लक्ष्मण विष्ट गत भदौ २५ गते दुबई हुँदै रुस पुगेका थिए । दलालीलाई नौ लाख रुपैयाँ तिरेर रुस पुगेका उनी अहिले सम्पर्कमा छैनन् । थापाले भने, ‘हामीलाई थाहै नदिई राम्रो कमाई हुने आश्वासनमा दलालीलाई माटो रकम बुझाएर ऊ रुस पुगेछ । त्यहाँ पुगेपछि मात्र हामीले थाहा पाएका हौं । लामो समयदेखि ऊ सम्पर्कमा छैन ।’

युद्धग्रस्त मुलुकमा पठाउन गिरोह सक्रिय

नेपालीलाई रुसी सेनामा भर्ती गराउन गिरोहसमेत सक्रिय रहेको पाइएको छ । यतिखेर त्यहाँ दुबई, कतार, मलेसियामा काम गर्न पुगेका नेपालीहरुको हिस्सा ठूलो रहेको बताइन्छ । उनीहरुलाई त्यहाँ पुर्याउन गिरोह नै सक्रिय रहेको पाइएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत मंसिर १४ गते काठमाडौंका विभिन्न स्थानबाट उक्त कार्यमा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको थियो । 

पाँँच दिनपछि सार्वजनिक गरिएकामा काठमाडौंका सन्तोष रोका, रोजल महर्जन, सिन्धुपाल्चोकका मनिष न्यौपाने, उदयपुरका हरिबहादुर विश्वकर्मा, क्षितिज गिरी, सिराहाका दिपेन परियार हुन् ।
त्यस्तै, काभ्रेपलाञ्चोकका सुवास लामा, चितवनका गोकर्ण आर्याल, बाराका सन्तोष नेपाल, ओखलढुंगाकी सुजाता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङका द्रोणा डाँगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुले भिजिट भिसामा दुबई तथा सडक मार्गबाट भारत पुर्याएर त्यहाँबाट रुस पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसवापत गिरोहले प्रतिव्यक्ति सात लाखदेखि ११ लाख रुपैयाँसम्म असुलेको पाइएको छ । 

पक्राउ परेकामध्ये उदयपुरका हरिबहादुर विश्वकर्मा मुख्य नाइके हुन् । म्यानपावर सञ्चालकसमेत रहेका उनले रुसी सेनामा भर्ना गराइदिने विज्ञापन समेत नै गरेका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको ४३ वटा राहदानीसहित लाखौं रकम, मोबाइल फोन र लेनदेनका कागजातहरु बरामद गरेको थियो । 

सबै जिल्ला प्रशासन कार्यालयमा धर्नाको तयारी 

रुसी सेनामा भर्ना भएका नेपालीको उद्धारको माग गर्दै आफन्त तथा परिवारले देशभरका सिडियो कार्यालयमा धर्ना दिने तयारी गरेका छन् । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले उक्त जानकारी दिएकी हुन् । अगाडि भनिन्, ‘७७ वटै जिल्लाका स्थानीय प्रशासन कार्यालय बाहिर धर्ना दिन्छौं ।’

टिप्पणीहरू