राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पण, हुलाक टिकटमा कृष्ण पाउरोटी कहिले ?
वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । साहित्यकार राजकर्णिकारले उक्त संस्मरणात्मक कृति आफूले इमानदारीपूर्वक लेख्ने प्रयास गरेको जानकारी दिएका छन्
उनले कृतिमा पुर्खाले गरेको संघर्ष, पिताले स्थापना गरेको कृष्ण पाउरोटीका रोचक र अप्ठ्यारा समयदेखि वर्तमान स्थितिसम्मलाई प्रस्तुत गरिएको बताए । समालोचक प्रा.डा कृष्णप्रसाद दाहालले राजकर्णिकारले परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा पनि पुस्तकमा समेटेको बताए ।
अस्ति सम्पन्न कार्यक्रमको शब्द झाँकी :
तोकिएको समयभन्दा केही ढिलो शुरु भएको कार्यक्रममा साहित्यकला अनलाइन पत्रिकाकी उपसम्पादक, समाज सदस्य तथा पछिल्लो कृति ‘अनुभूतिको अवतरण’ निबन्ध सग्रहकी स्रष्टा रञ्जना निरौलाले उद्घोषणको जिम्मा पाएकी थिइन् ।
मञ्चमा समाजका अध्यक्ष श्रीओम रोदन, लेखक घनश्याम राजकर्णिकार, समालोचक प्रा.डा कृष्णप्रसाद दाहाल, उपप्राध्यापक तथा साहित्यकार महेश पौड्याल, लेखकका ज्वाइँ नीलकृष्ण ताम्राकार र साहित्यकार तथा गायिका पद्मावती सिंहलाई आसन ग्रहण गराएपछि सबैलाई रुद्राक्षको माला लगाइयो ।
समाजका महासचिव देविका तिमिल्सिनाले समाजले लगातार दुई वर्षदेखि पुस्तक लोकार्पण कार्यक्रम गरिरहेको बताए । धेरैले समाजमार्फत् कार्यक्रम गर्न खोजेको तर गल्ती होला भन्ने डरले कम मात्र गरिरहेको पनि जानकारी दिइयो ।
तिमिल्सिनाले सचेत गराउँदै भने, ‘कार्यक्रमपछि शाकाहारी भोजन छ, डिनर गरेर मात्र जानुहोला, नत्र खेर जान्छ ।’ अनि कृति विमोचन शुरु भयो मञ्चासीन सबैबाट दर्शक–स्रोता देखाएर ।
कृतिमाथि ‘वरिष्ठ समालोचक’ पौड्याललाई पहिला बोल्न लगाइयो । उनले भने, ‘राजकर्णिकार व्याख्या, विश्लेषण गर्नुपर्ने नाम नै होइन ।’ निबन्धकार–नियात्राकारहरु धेरैजसो आख्यानतिर लागेपनि राजकर्णिकार भने आफ्नो विधामा अडिग नै रहेको उनले सुनाए ।
उनले भने, ‘ठूल्ठूला सैनिक, न्यायाधीश, राजनीतिकर्मीका आत्मजीवनी, संस्मरणमा पक्कै केही नयाँ लेखियो नै होला भनेर किन्दा चासोका कुरा लेखिएकै हुन्न, भुल र भ्रष्टाचारका पनि हुन्न । आत्मजीवनी, संस्मरणमा भुलसहित नआए हुन्छ । गान्धीले ‘माई एक्सपेरिमेन्ट विद ट्रुथ’ मा भन्नै नहुने कुरा पनि लेखेका छन् । त्यसैले त्यो राम्रो कृति भयो ।’
उनले राजकर्णिकारले विमोचित कृतिमा आफ्ना परिवारका धेरै पोलहरू स्वीकारेको बताए । कोलकातामा लेखकका पिता कृष्णबहादुरलाई पाउरोटी बनाउन सिकाउने बंगालीलाई पनि पौड्यालले धन्यवाद दिए ।
उनले दिनहुँ पढिरहन मन लाग्ने कृति दिने राजकर्णिकारलाई नेपाली साहित्यको संस्मरण जगतमा हार्दिक स्वागत गरे । त्यसपछि शुभकामना दिन बोलाइएका लेखकका ज्वाइँ ताम्राकारले यतिका मानिस भेला भएका ठाउँमा ससुराको कृति राम्रो छ भनेर सुन्न पाउँदा यसै पनि लालमोहर लागेको बताए ।
उनले उमाल्न राखिएको पानीमा राख्दा नरम बन्ने आलु तथा कडा बन्ने अण्डा र पानीमा नै घुलनशील बन्ने चियापत्ती जस्तै तिनै स्वभावका आफ्ना ससुराले पाँच छोरीलाई आफ्नो निर्णय आफैँ गर्न स्वतन्त्रता दिएको चर्चा गरेका थिए ।
आफ्ना लेखनमा आन्तरिक भन्न नपर्ने कुरा पनि लेखिदिनाले कहिलेकाहीँ अप्ठेरो लागेको पनि उनको गुनासो थियो । उनले बिहान ५ बजेदेखि नै ससुराको खानपिन र अन्य व्यवहारमा सघाइदिने आफ्नी सासु शान्ताको प्रशंसा पनि गरे ।
दर्शक–स्रोताले पनि उनको सम्मानमा ताली बजाए । उद्घोषिकाले छोराजस्तो भाग्यमानी ज्वाइँ पाएको भन्दै ताम्राकारलाई फुक्र्याइदिइन् र मञ्चमा नै शान्तालाई बोलाइन्, अनि फेरि बज्यो ताली । मञ्चमा पुगेपछि लेखकले पत्नीलाई प्रेमले अँगालो मारे ।
मञ्चमा अटेसमटेस हुन थाल्यो । अर्का समालोचक तथा राजकर्णिकारका पुराना मित्र प्रा.डा दाहालको पालो आयो बोल्ने । उनले अनावश्यक रूपमा केही अतिथिको नाम लिए र समय खर्चिए ।
गत माघ ३ गते ८३ वर्ष प्रवेश गरेका लेखकको सक्रिय लेखन, पठन र प्रकाशनको तारिफ गर्दै उनका सबै कृति पढेको र आइतबार विमोचित कृतिको नाम नै सुन्दर रहेको उनले बताए ।
पेज टर्नर बागबजारद्वारा प्रकाशित कृतिमा तत्कालीन राजनीति, राणाशासन र अन्य इतिहासमा नलेखिएको कुरा लेखिएको जनाउँदै उनले वि.सं. २००५ साउन १० गते स्थापित कृष्ण पाउरोटी भण्डार नेपालको हुलाक टिकटमा प्रकाशन गर्नुपर्ने माग गरे ।
लेखक राजकर्णिकारले नेपाली साहित्यमा छुट्टै किसिमले आफ्नो पहिचान बनाउन पाएकोमा गौरव महसुस भएको बताउँदै ५० वर्षको लेखनयात्रामा आठ नियात्रा सम्झिए ।
उनले आफूमा अहिले जवानीको जोस नभएकाले लामो यात्रा गर्न नसके पनि लेखनबाट भने सन्न्यास नलिने बताए । आफूले पुर्खाबारे देखेको, भोगेको, सुनेको र पढेको कुरा इमानदारितासाथ प्रस्तुत गरेको जनाउँदै उनले सहज र सरल भाषा भएकाले आद्योपान्त पढ्न आग्रह पनि गरे ।
उद्घोषिकाले लेखकको सुख, स्वास्थ्य र सक्रिय जीवनको कामना गर्दै फेरि अर्काे किताब आओस् भनी शुभकामना दिइन् । गायिका तथा लेखिका सिंहले शंकर लामिछानेपछि राजकर्णिकार सशक्त र ऊर्जाशील लेखक भएको जनाउँदै ९०–९५ वर्षसम्म पनि लेखिरहन कामना व्यक्त गरिन् ।
समाजका अध्यक्ष रोदनले राजकर्णिकारका कृति स्कुल पढ्दाताका नै पढेर विभिन्न देशबारे आफूलाई ज्ञान भएको र अन्य पुस्तकहरू पढ्न आकर्षित भएको बताए । उनले समाजका बेइमान पात्रहरूले पनि अरूलाई लेखाएर महान् बनेको व्यंग्य गर्दै त्यसमा साहित्यकारहरू नै लागेकोमा रोष प्रकट गरे ।
उनले लेखकलाई कमलपोखरी टोलबारे लेख्न पनि सुझाए । कार्यक्रममा झण्डै सय जना अतिथि रहेकोमा कोही मञ्चमा लेखकसँग तस्बिर खिच्न लागेका थिए त कोही रात्रि भोजतिर । भोजस्थलमा पनि तस्बिर खिच्ने काम कायमै थियो ।
टिप्पणीहरू