गृहमन्त्रीका आरोपमा प्रधानमन्त्रीको जवाफ-वाहियात !

गृहमन्त्रीका आरोपमा प्रधानमन्त्रीको जवाफ-वाहियात !
सुन्नुहोस्

देशभर सहकारीको सञ्जाल बनाएर सर्वसाधारणको अरबौँ रकम हिनामिना गरी भागेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जिबी राईलाई नेपाल ल्याउन पहल भैरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सो जानकारी गराउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले जिवी राईको पासपोर्टमा समस्या देखिएको र सुल्झाउने काम भइरहेको पनि बताउनुभयो । 

त्यसक्रममा प्रधानमन्त्रीले जिवीलाई सरकारले नै भगाएको भन्ने आरोपको खण्डनसमेत गर्नुभयो । जिवीका तत्कालीन व्यावसायिक पार्टनरसमेत रहेका र सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले अघिल्लो सरकारले भगाएको आरोप लगाउनुभएको थियो । उक्त आरोपलाई प्रधानमन्त्रीले वाहियात भन्नुभयो । 

जिवी राईलाई सरकारले नै भगाएको आरोप छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, 'यो वाहियात कुरा हो । त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन। जिवी राईलाई ल्याउनुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ । त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या मात्रै भएको हो । त्यसलाई हल गर्न खोजिँदैछ ।'

प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति बनाउने विषयले पर्सिसम्ममा टुंगो लाग्ने पनि जानकारी दिनुभएको छ । संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग 'संकटग्रस्त सहकारी'का बारेमा अध्ययन गरेर प्रतिवेदन दिने विषयमा छलफल भइरहेको उहाँको भनाई छ । 

'गृहमन्त्री रविजी सायद एकछिन अगाडि यहीँ हुनुहुन्थ्यो। उहाँले पनि समिति बनाउने कुराको सैद्धान्तिक रूपले विरोध गर्नुभएको छैन', प्रधानमन्त्रीले भन्नुभयो, 'त्यसकारण सबै संकटग्रस्त सहकारीहरूको बारेमा अध्ययन गरेर प्रतिवेदन दिनेमा सहमति भयो भने त्यसका निम्ति कोसिस गर्ने कुरामा सकारात्मक छलफल भएको छ ।'

जेठ १ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा कांग्रेसले अवरोध नगर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 'यदि सहमति भएन भने पनि कांग्रेसले राष्ट्रपतिलाई अवरोध गर्दैन भन्ने मलाई विश्वास छ । सकेसम्म सहमति हुन्छ। सहमति होस् भन्ने कांग्रेसको चाहना छ', उहाँले भन्नुभयो ।

टिप्पणीहरू