श्रीलंका र माल्दिभ्समा फसेका नेपाली धमाधम घर फिर्ता

श्रीलंका र माल्दिभ्समा फसेका नेपाली धमाधम घर फिर्ता
सुन्नुहोस्

श्रीलंका र माल्दिभ्समा अलपत्र नेपालीहरुको उद्धारका लागि कोलम्बोस्थित नेपाली दूतावासले सक्रियता बढाएको छ । बैदेशिक रोजगारीको सिलसिलामा गैरकानुनी बाटोबाट त्यहाँ पुगेका नेपाली कामदारलाई उद्धार गरी स्वदेश फर्काउन दूतावास सक्रिय भएको हो ।  

पछिल्लो पटक दूतावासले श्रीलंकामा कष्टकर जीवन बिताइरहेका तीनजना नेपालीलाई स्वदेश फिर्ता पठाएको छ । भारत हुँदै श्रीलंका पुगेका र रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि कष्टकर जीवन बिताइरहेका सुर्खेतका कुलबहादुर रासकोटी, मकवानपुरका तीर्थलाल रुम्बा र दैलेखका उमेश ओलीको उद्दार गरी नेपाल पठाएको दूतावासले जानकारी दिएको छ । 

घटना विवरणअनुसार नेपालमा सेफको काम गर्दै आएका उनीहरु धेरै आयआर्जन हुने प्रलोभनमा श्रीलंका पुगेका थिए । पर्यटन भिसामा त्यहाँ पुगेका उनीहरु पूर्वीक्षेत्र बाट्टिकलोआस्थित एक होटलमा किचनमा काम गर्थे । तर,महिनौंसम्म पारिश्रमिक पाएनन् । 

त्यसपछि अर्को होटलमा पुगेका उनीहरु सञ्चालकको अमानवीय व्यवहारको शिकार बने । कैदीझैं होटलको पर्खालभित्र बाँधिएका उनीहरुलाई रात दिन काममा लगाइन्थ्यो । तर, पारिश्रमिक नपाएर पटक-पटक भाग्ने कोशिस गरेका उनीहरु राहदानी र पैसा नहुँदा होटलमै थुनिन बाध्य भए । त्यसैक्रममा तीमध्ये एकजना दूतावासको सम्पर्कमा पुगे । तर, उनीहरुसँग पासपोर्ट र पैसा थिएन । दूतावासले होटल सञ्चालकसँग समन्वय गरी पासपोर्ट फिर्ता गराउन पहल गर्यो । होटल सञ्चालक पासपोर्ट फिर्ता गर्न तयार भए पनि त्यसका लागि लामो र झन्झटिलो कानुनी प्रक्रियामा जानुपर्ने भएकाले उनीहरुलाई ट्राभल डकुमेण्टबाटै नेपाल फिर्ता पठाईएको जानकारी गराइएको छ ।  राजदूत वासुदेवमिश्रका अनुसार दूतावासले नै अध्यागमन, एअरलाइन्सलगायतका सबै कानुनी प्रक्रिया पूरा गरेर उनीहरुलाई नेपाल पठाएको हो । 

माल्दिभ्ससमेत हेर्दै आएको दूतावासले यसलाई एउटा प्रतिनिधिमूलक घटना मात्र भएको जनाएको छ । श्रीलंकाको तुलनामा माल्दिभ्समा यस्ता घटना धेरै हुने र उद्दार तथा स्वदेश फिर्तीको काम निरन्तर भइरहेको पनि जानकारी दिइएको छ । 

पछिल्लो एक महिनामा पाँच जना नेपालीलाई माल्दिभ्सबाट उद्दार गरेर नेपाल फिर्ता पठाएको दूतावासको तथ्याङ्कमा उल्लेख छ । नेपाल फिर्तीका लागि माल्दिभ्सबाट निवेदनहरु प्राप्त भइरहेको र उनीहरुसँग सम्पर्क गरेर सहजीकरण गर्न दूतावास सक्रिय रुपमा लागिपरेको राजदूत वासुदेव मिश्रले बताए ।

यसअघि घुमघामका लागि माल्दिभ्स पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहकी बहिनी शोभा शाहीको राहदानी म्याद गुज्रिएर अलपत्र परेपछि दूतावासले सम्पर्क गरि सहजीकरण गरिदिएको थियो । विदेश यात्रा गर्न राहदानीको म्याद कम्तिमा १८० दिन हुनुपर्नेमा शोभाको उक्त अवधि दुई दिन गुज्रिएकाले अध्यागमनले उनीहरुलाई 'बोर्ड इन' नदिएपछि उतै रोकिएका थिए । घटनाको जानकारी पाएपछि राजदूत मिश्रले कूटनीतिक संवादमार्फत उनलाई नेपाल फर्काउन पहल गरेका थिए । 

त्यस्तै, गत माघमा श्रीलंकाको जेलमा रहेका एक नेपाली युवाको उद्धार गरी दूतावासले नेपाल पठाएको थियो । दलालमार्फत नक्कली भिसामा भारत हुँदै श्रीलंका पुगेका बाराका २७ वर्षीय सुनिल चौधरी एक महिनादेखि त्यहाँको जेलमा थिए । आफूले काम गर्ने कम्पनीले पारिश्रमिक नदिएपछि माल्दिभ्समा अलपत्र परेकी सरेना कार्की नामकी युवतीलाई पनि त्यसैगरी उद्धार गरेर नेपाल फर्काइएको थियो ।

वैदेशिक रोजगारीका लागि माल्दिभ्स सुरक्षित र आकर्षक गन्तव्य मानिन्छ । हाल १० हजार हाराहारीमा नेपालीहरु माल्दिभ्समा रहेको र त्यो संख्या भविष्यमा बढ्ने सहज आकंलन गर्न सकिन्छ । संख्या बढेसँगै समस्या पनि बढ्नु स्वाभाविकै हो । तर, त्यहाँ नेपाली नियोग नहुँदा राहदानी नवीकरण गर्नसमेत श्रीलंका धाउनुपर्ने बाध्यता छ । भिसा शुल्क अ.ड. ५०, आतेजाते हवाई खर्चले उनीहरु मर्कामा पर्ने गरेका छन् । 

यद्यपि, सरोकारवाला निकायको त्यसतर्फ ध्यान जान सकेको छैन् । अहिले उपलब्ध स्रोत, साधन र जनशक्तिले श्रीलंकामा रहेकै नेपालीको गुनासो सम्बोधन गर्न कठिनाइ भइरहेकाले माल्दिभ्समा छुट्टै नियोग आवश्यक पर्ने राजदूत मिश्र बताउँछन् । उनका अनुसार स्रोत साधनको अभावले दूतावासका प्रतिनिधिले विगत पाँच वर्षदेखि माल्दिभ्सको भ्रमणसमेत गर्न सकेका छैनन् । 

राहदानी विभागले अमेरिका, अष्ट्रेलिया, युरोपलगायतका मुलुकमा यसअघि कन्सुलर सेवासम्बन्धी घुम्ती सेवाको आयोजना गरेको थियो । तर, त्यतिबेला पनि माल्दिभ्स विभागको प्राथमिकतामा परेन । स्रोतसाधनको अभावले दूतावास आफैँले पनि घुम्ती सेवा संचालन गर्न सकेको छैन् । 

सरकारले युरोप, अमेरिका, अष्ट्रेलिया छिरेर उतै भाँसिनेलाई प्राथमिकतामा राखेर सुविधा दिइरहँदा श्रम गरी मुलुकमा रेमिट्यान्स पठाउनेलाई अपहेलना गरेको गुनासो नयाँ होइन । घुम्ती सेवाका नाममा विदेश घुम्ने मोहले विभागका पदाधिकारीहरुको प्राथमिकता युरोप, अमेरिकालगायतका मुलुक पर्ने गरेको जानकारहरु बताउँछन् । यही प्रवृत्ति कायम रहे एसियाली मुलुकमा रहेका नेपाली कामदारले राहदानी नवीकरण गर्न काठमाडौँ नै आउनुपर्ने अवस्था नहोला भन्न सकिंदैन । 

यता, राजदूत मिश्रले अर्को वर्ष आफ्नै स्रोतले माल्दिभ्समा घुम्ती सेवाको आयोजना गर्ने योजना बनाएको बताएका छन् । घुम्ती सेवा सञ्चालन गर्ने योजना बाहिर आएसँगै ठगी मौलाएपछि दूतावासले आफ्नो वेभसाइटमार्फत विज्ञप्ति जारी गर्दै माल्दिभ्समा रहेका नेपाली श्रमिकलाई सचेत पनि गराएको छ । राहदानीसम्बद्ध मामिलामा सचेत रहनुपर्ने विषयहरु समेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ । 

त्यस्तै, राजदूत मिश्रले अ.ड.४०० भन्दा कममा माल्दिभ्स नआउन पनि आग्रह गरेका छन् । खान, बस्न, बीमा, ओभरटाइम र तलबभत्तासहित प्रति महिना न्यूनतम अ.ड.४०० भन्दा कम हुनेगरी प्राप्त हुने मागपत्रहरु प्रमाणित नगर्ने दूतावासको अडान छ । माल्दिभ्सको मँहगीले गर्दा त्यति पारिश्रमिक दिनैपर्ने दूतावासको भनाइ छ । 

स्मरण रहोस्, श्रीलंकामा राजनीतिक तथा आर्थिक संकट उत्कर्षमा पुगेका बेला राजदूत मिश्र जिम्मेवारी सम्हाल कोलम्बो पुगेका थिए ।

टिप्पणीहरू