पालिका अध्यक्षको काम, छोराका नाममा दुई लाख झ्वाम्

पालिका अध्यक्षको काम, छोराका नाममा दुई लाख झ्वाम्

अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले आफ्ना छोराको नाममा गाउँपालिकाको दुई लाख रुपैयाँ हात पारेका छन् । एमबिबिएस अध्ययनरत छोरालाई ल्यापटप तथा सामाग्री वितरणका नाममा गाउँपालिकाको दुई लाख रुपैयाँ आफ्नो भागमा पारेको बताइएको छ ।

चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा उनले एमबिबिएस अध्ययनरत विद्यार्थीको नाममा ल्यापटप तथा सामाग्री वितरणका नाममा दुई लाखको बजेट रातो किताबमै छुट्याएका थिए । गाउँ सभामा छलफलका क्रममा उक्त बजेटबारे कुनै जानकारी गराइएको थिएन ।

सभाका एक सदस्यका अनुसार अध्यक्ष साउँदले आफ्नै छोरालाई ल्यापटप तथा सामाग्री वितरणका नाममा दुई लाख बजेट विनियोजन गरिएको विषयमा कुनै जानकारी नगराई रातो किताब तयार पार्ने क्रममा योजना समावेश गरेको बताए । 

अध्ययनरत अर्की छात्रालाई न राहत न सहयोग :

गत वर्ष बान्नीगढी जयगढ गाउँपालिकाबाट गाउँपालिका अध्यक्षका छोरा सन्देश साउँद र एउटै वडाकी मञ्जु जाेशी नेपाल सरकारको पूर्ण छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागि छनोट भएका थिए । पालिकाबाट दुई जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको भनिए पनि गाउँपालिकाका अध्यक्ष साउँदले भने ‘आफ्नै हात जगन्नाथ’ उखानलाई चरितार्थ तुल्याएका हुन् । उक्त रकम सोझै छोराको नाममा भुक्तानी दिन लगाएका हुन् ।

वडा नम्बर ३ बर्दादेवीकी मञ्जु  जोशी सम्भवतः पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागी छनोट हुने अछामकै पहिलो छात्रा हुन् । 

कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट :

गाउँपालिकाको रातो किताबमा समावेश एमबिबिएस अध्ययनरत विद्यार्थीलाई ल्यापटप तथा सामाग्री वितरण शीर्षकको बजेट गाउँपालिका अध्यक्षले आफ्ना छोरालाई वितरण गर्ने प्रस्ताव प्रस्तुत गरेपछि गाउँपालिकाको कार्यपालिका बैठकमा बबाल मच्चिएको थियो । गत पौष २९ गते बसेको कार्यपालिका बैठकमा सोझै कार्यपालिकाबाट निर्णय गराएर दुई लाख भुक्तानी दिने अध्यक्षको ठाडो प्रस्तावमा उपाध्यक्ष बिन्दु रावलले असहमति जनाएकी थिइन् । 

कुनै पनि अनुदान तथा सहायता वितरण गर्दा व्यक्तिलाई सोझै नतोकी मापदण्डका आधारमा सूचना निकालेर प्रक्रिया पुर्याएर मात्रै रकम वितरण गर्नुपर्ने अडान उपाध्यक्षको थियो । 
 
पालिकाबाट दुई जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरतको मापदण्ड बनाएर प्रतिस्पर्धाका आधारमा वा एमबिबिएस अध्ययनरत दुवै विद्यार्थीलाई समान रूपले उक्त रकम वितरण गर्नुपर्ने अडान उपाध्यक्ष रावलले कार्यपालिका बैठकमा राखेको बताइन्छ । आफ्नो अडानको अध्यक्ष साउँदले बेवास्ता गरेपछि उपाध्यक्ष रावलले कार्यपालिका बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेकी थिइन् । बैठकमा लिखित रुपमा ‘नोट अफ डिसेन्ट’ पेश भएको त्यो नै पहिलो घटना थियो । दुवै विद्यार्थीलाई समान रुपमा सहायता गर्नुपर्ने प्रस्तावमा अध्यक्ष साउँदले आफ्नो भागको बजेटबाट छोराकै लागि बजेट विनियोजन गरेकाले अरूलाई दिन नसकिने अडान लिएका थिए ।

अध्यक्षको जवाफ ‘पदमा भएको बेला गरिहाल्नपर्छ’

गाउँपालिकाको दुई लाख बजेट सोझै आफ्नो छोरालाई वितरण गर्ने प्रपञ्च मिलाएपछि भएको विवादको चर्चा सतहमै आएको थियो । धनगढीमा अध्यक्ष साउँदलाई आफै जिम्मेवार पदमा भएका बेला यस्तो निर्णय गर्दा राजनीतिक भविष्य बिग्रने भन्दै सचेत गराइएको थियो । शुभचिन्तकहरु सुझाउने प्रयास गर्दा अध्यक्षको ओठे जवाफ थियो, ‘पदमा भएको बेला गरि हाल्नुपर्छ, भन्नेहरू भन्दै गर्छन् ।’

टिप्पणीहरू