सूचना अधिकारीलाई स्रोतसाधन सम्पन्न बनाउन निर्देशन

सूचना अधिकारीलाई स्रोतसाधन सम्पन्न बनाउन निर्देशन

राष्ट्रिय सूचना आयोगले सूचना अधिकारीलाई स्रोतसाधन सम्पन्न बनाउन निर्देशन दिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७७ वटै स्थानीय तहलाई परिपत्र गर्दै आयोगले उक्त निर्देशन दिएको हो ।

स्थानीय तहमा सूचनासम्बन्धी हकको कार्यान्वयन अवस्थाबारे अध्ययन गर्दा कमीकमजोरी पाइएको उल्लेख गर्दै आयोगले सूचना मागको अवस्थालाई ध्यानमा राखी आवश्यकताअनुसार सूचना शाखाको व्यवस्था गर्न पनि भनेको छ । 

त्यस्तै, सूचना अधिकारी अनिवार्य रुपमा तोक्न र सूचना अधिकारी तोक्दा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ६ र नियमावली, २०६५ को नियम २४ (क) को व्यवस्थाबमोजिम मात्र गर्न आयोगको निर्देशन छ । 

आयोगले सूचना अधिकारीलाई सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच तथा सहयोग गर्न पनि आग्रह गरेको छ । सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कारजस्ता विषयमा सूचना अधिकारीलाई प्राथमिकतामा राख्न परिपत्रमा उल्लेख छ । 

स्थानीय तहको नीति, कार्यक्रम तथा बजेटमा सूचनाको हकको कार्यान्वयलाई समावेश गर्न, सूचनाको हक कार्यान्वयनका निम्ति सूचना प्रविधिमा आधारित अभिलेख व्यवस्थापन प्रणाली अवलम्बन गरी प्रगति विवरण जिल्लास्तरीय अनुगमन इकाई र आयोगमा पठाउन, कानूनले तोकेका व्यवस्थाहरु सबै कार्यान्वयन गर्न पनि भनिएको छ ।

टिप्पणीहरू