पोखरामा पर्यटक आउन नदिने ?

पोखरामा पर्यटक आउन नदिने ?
सुन्नुहोस्

सेप्टेम्बर–नोभेम्बर महिनालाई पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ । यो बेला आन्तरिक तथा बाह्य पर्यटकको आगमनले देशका पर्यटकीय क्षेत्र भरिभराउ हुने गर्छ । त्यसमध्ये पर्यटकीय नगरी पोखरा पर्यटकहरुको पहिलो रोजाइको गन्तव्य हुने गरेको पाइन्छ । 

नेपाल भित्रने विदेशी पर्यटकमध्ये झन्डै आधासहित लाखौं आन्तरिक पर्यटकको रोजाइमा पोखरा पर्ने गरेको छ । दैनिक सयौँको संख्यामा पर्यटक पोखरा पुगिरहेका छन् । कोभिड माहमारीका कारण केही वर्ष थला परेको पर्यटन क्षेत्रले क्रमश: लय समातिरहेका बेला पोखरामा चर्किएको सडक प्रदर्शनले नकारात्मक असर पर्ने देखिएको छ ।

गत शनिबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र सहकारी पीडितहरु पोखरा केन्द्रित आन्दोलनमा छन् । जसका कारण सिंगो पर्यटन व्यवसाय मारमा पर्ने खतरा देखिएको भन्दै यहाँका व्यवसायी चिन्तामा छन् । दुई पक्षीय आन्दोलनका कारण पर्यटकले असुरक्षित महसुस गर्न थालेपछि व्यवसायी तनावमा परेका हुन् । 

सभापति रवि लामिछाने पक्राउविरुद्ध रास्वपाले गत शनिबारदेखि हरेक दिन प्रदर्शन गरिरहेको छ । हिजोदेखि सूर्यदर्शन सहकारीका पीडित बचतकर्ता पनि न्याय माग्दै सडकमा निस्किएका छन् । सम्भावित झडपलाई मध्यनजर गरेर प्रहरीले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा हान्नुपरेको स्थिति छ । 

आन्दोलन लम्बिँदै गए थप पर्यटक पोखरा नआउने र आएका पनि फर्किनसक्ने गुनासो पर्यटन व्यवसायीहरुको छ । 'यो पर्यटक आउने समय हो । कोरोनाको बेलादेखि सुकेको व्यापार बल्ल टुसाउँदै थियो । यस्तो भएपछि खत्तम हुने भयो', एक होटल व्यवसायीले दु:खेसो पोखे । 

देशभरबाट रास्वपाका कार्यकर्ता पोखरा थुप्रिएकाले साना होटल भने भरिभराउ छन् । तर, यसले समग्र पर्यटन व्यवसाय भने अप्ठेरोमा पर्ने उनले बताए । 

'यो पर्यटक आउने समय हो । कोरोनाको बेलादेखि सुकेको व्यापार बल्ल टुसाउँदै थियो । यस्तो भएपछि खत्तम हुने भयो', एक होटल व्यवसायीले दु:खेसो पोखे ।

यता, रविले सहकारीको पैसा ठगी नगरेको र उनलाई रिहा गर्नुपर्ने माग गर्दै शनिबारदेखि शुरु भएको प्रदर्शन हिजो पनि जारी रह्यो । दिउँसो जिल्ला अदालत अगाडि भएको प्रदर्शनमा रविका कार्यकर्ता उग्र विरोधमा उत्रिएपछि प्रहरीले बल प्रयोगसमेत गरेको थियो । 

सडकको बलमा सभापतिलाई 'क्लिनचिट' दिलाउने उद्धेश्यका साथ शुरु भएको प्रदर्शनको पहिलो दिन सो पार्टीले प्रत्येक दिन १० हजार कार्यकर्ता सडकमा ओराल्ने घोषणा गरेको थियो । तर, स्थानीयको साथ नपाएपछि 'आन्दोलन' एक साता नपुग्दै क्रमश: शिथिल हुँदै गएको छ । 

शनिबार र आइतबारको प्रदर्शनमा राम्रै भीड जम्मा भए पनि सोमबारदेखि चिनिएका अनुहारबाहेक कार्यकर्ता सडकमा आएका छैनन् । त्यस्तै, समर्थक भनिएकाहरु पनि रोजगारी नभएका र युट्युबमा सनसनीपूर्ण शीर्षक राखेर डलर कमाउने लोभमा दौडिएका केही 'पत्रकार'हरु मात्र देखिन्छन् ।

प्रदर्शन कमजोर बन्दै गएपछि रास्वपाले 'रविलाई जोगाउन आइदेऊ' भन्दै चुनावमा जस्तो घरदैलो पनि गर्यो । एक दर्जन नेता स्थानीयलाई फकाउन पोखराका विभिन्न स्थानमा खटिएका थिए । 

पोखरा सहकारी पीडितहरुको संख्या अत्यधिक भएको जिल्ला पनि हो । त्यसकारण रविको निर्वाचन क्षेत्र चितवनमा जस्तै एकैछिनमा हजारौँ भीड जम्मा गर्ने योजना सफल नभएपछि रास्वपाले भोलिदेखि प्रदर्शन स्थगित गर्ने निर्णय गरेको छ । स्थानीयको सोचेजस्तो साथ नपाएको र जनआक्रोशसमेत बढ्दै गएपछि प्रदर्शन रोक्ने निर्णयमा पुगेको सजिलै बुझ्न सकिन्छ । 

'राजनीतिक मुद्दामा थुनिएको भए जनता सडकमा आउने एउटा आधार बन्थ्यो, फौजदारी केसमा समातिएकाले मान्छे आएनन्', एक स्थानीय भन्छन्, 'जति आएका छन् ति पनि रवि निर्दोष छन् भनेर होइन, पुराना पार्टीप्रति असन्तुष्ट भएर हो ।'

टिप्पणीहरू