सिरोहिया समातिएकोमा अमेरिकाको घुमाउरो असन्तुष्टि

सिरोहिया समातिएकोमा अमेरिकाको घुमाउरो असन्तुष्टि
सुन्नुहोस्

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउप्रति संयुक्त राज्य अमेरिकाले घुमाउरो असन्तुष्टि जनाएको छ । 

गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध समाचार लेखेका कारण प्रतिशोध साँधेर सिरोहियालाई कार्यकक्षबाटै गिरफ्तार गरिएको आरोप लागिरहँदा काठमाडौँस्थित अमेरिकी दूतावासले यससम्बन्धमा चासो व्यक्त गरेको हो । दूतावासको फेसबुक पेजमा लेखिएको छ, ''अझ परिपूर्ण मुलुक' बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरु हुन् ।'

नेपालले सुशासन,प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारको सुनिश्चितताका लागि जनतासँग सार्थक संवाद गर्ने दूतावासले विश्वास गरेको छ । 

'कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ', दूतावासले भनेको छ । 

नागरिकता किर्तेको आरोपमा धनुषा प्रहरीमा परेको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि हिजो अपराह्न कान्तिपुर कार्यालयको कार्यकक्षबाट समातिएका उनलाई साँझ धनुषा लगिएको थियो ।

टिप्पणीहरू