कार्यदलमा कांग्रेस लचक, रणनीति बनाउन छलफल गर्दै विपक्षी

कार्यदलमा कांग्रेस लचक, रणनीति बनाउन छलफल गर्दै विपक्षी

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने केन्द्रित संसदीय छानविन समितिको अडान राख्दै आएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नयाँ प्रस्ताव राखेको छ । 

समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन आज बसेको कार्यदलको बैठकमा कांग्रेसले गृहमन्त्रीको नाम किटान नगरी उनी संलग्न सहकारीको नाम तोकेर जान सकिने विकल्प प्रस्ताव गरेको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लामिछानेको नाम नै किटान गर्नुपर्ने मागबाट कांग्रेस पछि हटेको बताए । 

यद्यपि निष्कर्ष भने अझै निस्किएको छैन । थप छलफलपछि निकास निस्कने बर्तौलाको विश्वास छ । 
 
‘हामीले बैठक समापन गरेका छैनौँ, केही साइड छलफल भइरहेको छ । गृहमन्त्रीको पाटोबाट पनि केही छलफल भएको छ । बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ । गाँठो फुकाउनुपर्छ भन्नेतिर बैठक उन्मुख छ', उनले भने, 'नेपाली काँग्रेसबाट निरन्तर उठाउँदै आएको गृहमन्त्री रवि लामिछानेको नाम नै राखेर अनुसन्धान गर्नुपर्छ भन्ने विषय संसदबाट यस प्रकारबाट व्यक्तिका नाममा किटान गरेर सकिँदैन भन्ने भएको छ । नेपाली काँग्रेस यसमा थप लचकता अपनाएर आएको छ ।'

यता, सभामुखको सहयोगमा सत्तापक्षले नाराबाजीका बीच सदन चलाउने तयारी गरेपछि काउन्टर रणनीति बनाउन कांग्रेससहित विपक्षी दलको बैठक बसेको छ । बानेश्वरस्थित संसद् भवनमा रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । 

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै विपक्षीहरूले लामो समयदेखि संसद् अवरोध गर्दै आएका छन् । अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि विपक्षीहरु आक्रोशित छन् । 

आज पनि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । प्रतिपक्ष सहमतिमा नआए अवरोधका बाबजुत नीति तथा कार्यक्रम पारित गर्ने सत्तापक्षको तयारी छ । त्यसअघि सहमति जुटाउन प्रयास भैरहेकाले बिहान ११ बजे बस्नेगरी तय भएको प्रनिधिसभाको बैठक अहिलेसम्म शुरु भएको छैन ।

टिप्पणीहरू