सभामुखले पक्षधरता देखाएको आरोप, सत्तापक्ष भन्छ - काँग्रेसले मौलिक हकको अपहरण गर्यो

सभामुखले पक्षधरता देखाएको आरोप, सत्तापक्ष भन्छ - काँग्रेसले मौलिक हकको अपहरण गर्यो

विपक्षीको अवरोध र नाराबाजीका बीच सदन संचालन गराएकोमा सभामुखको भूमिकामाथि आलोचना भएको छ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेले संसदमा तटस्थ भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरेको हो। 

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेससहितका विपक्षीहरुले लामो समयदेखि सदन अवरुद्ध गर्दै आएका छन् । तर, उनीहरुको अवरोधका बाबजुत प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत संसदलाई नियमित कार्यसूचीमा लगेको आरोप सभामुखमाथि लागिरहेको छ । 

त्यसयता झन आक्रमक भएका विपक्षीहरुले आज पनि प्रतिनिधिसभाको आजको चल्न दिएनन् । बैठक शुरु हुनासाथ काँग्रेसका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर बिरोध जनाउँदै बोल्न समय मागेका थिए । तर, सभामुख घिमिरेले छलफलको वातावरण बनाउन आवश्यक रहेको भन्दै बसेर सहयोग गर्न आग्रह गरेपनि काँग्रेस सांसदहरुले मानेनन् । त्यसपछि कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित भएको घोषणा गरियो । 

बैठक स्थगित भएपछि संसद भवन बाहिर काँग्रेस सांसदहरुले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाएका छन् । सांसद प्रदीप पौडेलले काँग्रेस सांसदहरुलाई बोल्न नदिएकोमा आक्रोश पोख्दै 'संसद प्रतिपक्षको हुन्छ' भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए । सत्ताको इराशामा सभामुखले संसद एकलौटी ढंगले चलाउन खोजेको उनको दाबी छ ।

‘प्रतिपक्षले बोल्न पाउनुपर्यो भन्दा सभामुखले बोल्न दिनुभएन । संसद प्रतिपक्षको हुन्छ भन्ने आम संसदीय मान्यतालाई आज नेपालको संसदले उल्लंघन गरेको छ', सांसद पौडेलले भने, 'सभामुखले प्रतिपक्षलाई बोल्नबाट रोक्नुभएको छ । सभा शुरु हुनुअगाडि प्रतिपक्षको कुनै सांसदले बोल्न पाएको स्थिति थियो । आज त्यो पनि बन्द गरिएको छ । त्यसबाट संसद एकलौटी ढंगबाट चलाउने, जर्बजस्त गर्ने, सभामुख सम्पूर्ण रुपमा सत्ताको इसारामा चल्ने स्थिति बनेको छ ।'

यता, सत्तापक्षीय सांसदहरुले भने सभामुखको बचाऊ गरेका छन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उल्टै कांग्रेस सांसदहरुले सभामुखप्रति अशिष्ट व्यवहार प्रदर्शन गरेको आरोप लगाए । 

'सभामुखमाथि जसरी उहाँहरुले धारे हात लगाइरहनु भएको छ । सभामुखको अगाडि बसेर वेल घेराउको क्रममा सभामुखतर्फ औँला तेर्साएर तानाशाह मूर्दावादको जस्ता नारा पनि लगाइरहनुभएको छ', उनले भने, 'यो असाध्यै अशिष्ट, अशोभनीय तरिकाहरु हुन् । नेपाली काँग्रेसले यो शैलीलाई बदल्नुपर्छ ।'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पनि सभामुखको प्रतिरक्षा गरे । काँग्रेसले विगतमा आफू बोल्ने र संसद अवरोध गर्ने गरेकाले आज सबैलाई बोल्ने वातावरण बनाउनेगरी सभामुखले बैठक चलाउन खोजेको दाबि गर्दै उनले बचाऊ गरेका हुन् । 

‘सभामुखको आजको भनाई के मात्र हो भने बोल्नलाई सबैजना बोल्ने । तर बोल्नका लागि तपाईहरु वातावरण बनाउनुस् भन्ने हो । कुनै कार्यव्यवस्थामा सल्लाह भएर उहाँहरुलाई बोल्न नदिने भनिएको होइन । सभामुखज्यूलाई जे उचित लाग्यो त्यो गर्नुभयो', सांसद परियाले भने । 

यता, माओवादी केन्द्रका सांसदहरुले भने सदन खुलाउन सरकारले प्रयास गरिरहेको दाबी गर्दै काँग्रेसले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षलाई संसदमा बारम्बार बोल्न दिइएको बताउँदै अहिलेको गत्यावरोध अन्त्यका लागि  प्रधानमन्त्रीले प्रयास गरिरहेको बताए । 

काँग्रेसले आफू बोल्ने अनि संसद चलन नदिने गरिरहेकाले आज सभामुखले समय उपलब्ध नगराएका माओवादीका अर्का सांसद लेखनाथ दाहालको बुझाई छ । 'हामीले बोल्न नपाएको महिनौँ भयो । उहाँहरुले त बोल्नुभएको थियो योभन्दा अगाडि । त्यसकारण नेपाली काँग्रेसले कुनैपनि हालतमा सदन अवरुद्ध गर्ने । बोलिसकेपछि पनि अवरुद्ध गर्ने । कार्यसूचीभित्र पस्न नदिएकै कारणले गर्दा सभामुखले बैठक स्थगित गर्नुभयो', उनले भने ।

कांग्रेस सांसदहरुले यौटै मुद्दा उठाएर संसदलाई बन्धक बनाएको र आफूहरुको मौलिक हकको अपहरण गरेको दाहालको आरोप छ ।

टिप्पणीहरू