मगर जातिको बाहुल्य रहेको सुन्दर बुलिङ्टार (फोटोफिचर)

मगर जातिको बाहुल्य रहेको सुन्दर बुलिङ्टार (फोटोफिचर)
सुन्नुहोस्

पूर्वी नवलपरासी (नवलपुर) को उत्तरी भेगमा पर्छ, बुलिङ्टार गाउँपालिका । महाभारत श्रृङ्खलाअन्तर्गत समुन्द्री सतहदेखि १९३६ मीटर अग्लो देवचुली डाँडाको काखमा अवस्थित यो गाउँमा मगर जातिको बाहुल्यता छ । 

अति नै सुन्दर र मनमोहक बुलिङ्टार पर्यटकका लागि आकर्षणको केन्द्र हो । बुलिङ्टार स्वदेशीसँगै विदेशी पर्यटकको रोजाईमा पर्छ । घुम्न आउने पर्यटकको संख्या बढेसँगै यस गाउँपालिकामा थुप्रै होमस्टे सञ्चालनमा आएका छन् । 

गाउँकै नाम र मगर समुदायलाई जोडेर सञ्चालनमा ल्याइएको ‘चुलीबोझा मगर सामुदायिक होमस्टे’ निकै चर्चित छ । वडा नम्बर ४ मा रहेको सो होमस्टेअन्तर्गत पाहुनाका लागि १३ वटा घर रहेका छन् । 

होमस्टेले पाहुनालाई स्थानीय स्वाद चखाउँदै आएको छ । कोदोको ढिँडो, सिस्नुको अचार, लोकल कुखुराको मासु पर्यटकले अत्यन्तै मनपराउने होमस्टे सञ्चालक हेमलाल बराल बताउँछन् । 

संस्कृतिको जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न त्यहाँ मगर समुदायको मौलिक नाँच करुवा नाँच, झाम्रे नाँच पनि प्रस्तुत गर्ने गरिन्छ । सो होमस्टेबाट देवचुली, वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य हेर्न सकिन्छ ।

टिप्पणीहरू