नेपालमा सिनेमाण्डू, भारतको तमिलनाडूमा कलिउड

नेपालमा सिनेमाण्डू, भारतको तमिलनाडूमा कलिउड
सुन्नुहोस्

भारतीय चलचित्र क्षेत्रलाई ‘बलिउड’ र अमेरिकी चलचित्र क्षेत्रलाई ‘हलिउड’ भने झैं अब नेपाली चलचित्रलाई ‘सिनेमाण्डू’ भनिने भएको छ । यसअघि धेरैले नेपाली चलचित्र क्षेत्रलाई ‘कलिउड’ भन्दै आएका थिए । अबदेखि आधिकारिक रुपमा सिनेमाण्डू भन्न लागिएको छ ।

दक्षिण भारतीय चलचित्र (तमिल) लाई ‘कलिउड’ भनिन्छ । त्यसैले नेपाली चलचित्र क्षेत्रले ठोस नामको रुपमा सिनेमाण्डू रोजेको बताइन्छ । 

चलचित्र विकास बोर्ड र चलचित्र सम्बद्ध विभिन्न निकायहरुको आज बसेको बैठकले ‘सिनेमाण्डू’ नामको निर्णय गरेको हो । 

यसअघि सम्भावित नामहरुको सूचीका लागि बोर्ड अध्यक्ष भुवन केसीको नेतृत्वमा समिति बनाइएको थियो । जसमा बोर्ड सदस्यसचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, अधिकृत निर्मला चौंलागाइ, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र फिल्म निर्देशक लक्ष्मीनाथ शर्मालगायत सदस्य थिए । 

समितिले नेपाली चलचित्र क्षेत्रको निम्ति कान्तिपुर फिल्म्स, एभरेष्ट फिल्म्स, हिमालय फिल्म्स र सिनेमाण्डूलगायत नाम सिफारिस गरेको थियो । ती मध्येबाट सिनेमाण्डू चयन गरिएको हो ।

बोर्डले नामाकरणसम्बन्धी प्रस्ताव सूचना तथा सञ्चार मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पेश गर्ने तयारी पनि गरेको छ । मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि नेपाली चलचित्र क्षेत्रको नाम आधिकारिक रुपमा सिनेमाण्डू हुनेछ ।

टिप्पणीहरू