सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने

सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने

सरकारले पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले सो जानकारी दिनुभएको हो । 

नेपालमा विवाहको लागि आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक गन्तव्यलाई 'विवाह गन्तव्य'को रुपमा विकास गर्ने कार्यक्रम सरकारले घोषणा गरेको छ । त्यस्तै, जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हबका रुपमा विकास गर्न कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताउनुभयो । 

मे २९ मा सगरमाथा दिवस विशेष रुपमा मनाइने बजेट बक्तव्यमा उल्लेख छ । भरतपुर विमानस्थलको स्तरोन्नती आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाइएको छ । त्यसको लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले जानकारी दिनुभयो ।

त्यस्तै, नागरिक उड्यन पूर्वाधारमा ३ अर्ब ७७ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवद्र्धन गर्ने अर्थमन्त्रीको घोषणा छ । त्यसनिम्ति नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटन प्रोफाइल तयार गर्ने, पर्यटनलाई एकद्वार प्रणालीमा सेवा दिने व्यवस्था मिलाइने छ । 

पर्वतारोहण प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने, छिमेकी मुलुक भारत तथा चीन र अन्य मुलुकका प्रमुख शहरमा पर्यटक लक्षित रोड शो, मेला महोत्सव जस्ता प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने बजेटमा समावेश छ । 

पर्यटन पूर्वाधार विकासको लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको अर्थमन्त्री पुनले बताउनुभयो । उहाँले पर्यटन क्षेत्रतर्फ ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । 

त्यस्तै, विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने जनाइएको छ ।

टिप्पणीहरू