प्रचण्डसँग सोधेरै माधव नेपाल बूढानीलकण्ठ गएको खुलासा

प्रचण्डसँग सोधेरै माधव नेपाल बूढानीलकण्ठ गएको खुलासा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै हालतमा आफू नेतृत्वको सरकार नढल्ने दाबी गर्नुभएको छ । उहाँले सत्ता समीकरण परिवर्तन हुन्छ कि भनेर आशंका गर्नु आवश्यक नै नभएको समेत बताउनुभयो । 

आज बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले समीकरण तल–माथि नहुने कुरामा ढुक्क हुन सांसदहरुलाई आग्रह गर्नुभएको छ । सो क्रममा उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै विपक्षी दलको बैठकमा सहभागी भएको पनि खुलासा गर्नुभयो । 

बैठकमा प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले भन्नुभयो, ‘माधव नेपाल सल्लाह गरेर बूढानीलकण्ठ जानुभएको हो । जानुअघि मलाई जानकारी गराउनुभएको थियो । उहाँले समीकरण छाड्नुहुन्न, कुराकानी भइरहेका छन् ।’

आफूले पनि काँग्रेस नेतृत्वसँग भेट्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यस्ता भेटहरुमा दोधार नहोस् भनेर आपसी छलफल गरेर मात्रै जाने गरेको पनि सांसदहरुलाई सुनाउनुभएको थियो । प्रतिपक्षको कुरा सुन्न उनीहरुको बैठकमा जाने गरेको भएपनि सत्ता समिकरण तलमाथि नहुने स्पस्ट पार्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

‘यो समीकरणको नेतृत्व गरिरहेको म आफैं बूढानीलकण्ठ गएको तपाईंहरुले थाहा पाउनु भएन र १ म आफैँ पनि गएको थिएँ । यसकारणले कोही कतै जाँदा, सुन्दा ठिकै हुने हुन्छ । हाम्रो समिकरणमा अहिले कतै केही हुँदैन’, प्रधानमन्त्रीको भनाई पाण्डेले यसरी सुनाउनुभयो ।
 

टिप्पणीहरू