सहकारीको ऋण नतिर्नेको जायजेथा रोक्का गर्ने गाउँपालिकाको चेतावनी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले सहकारी संस्थाबाट लिएको ऋणको किस्ता तिर्न स्थानीय ऋणीलाई आग्रह गरेको छ । उनीहरुले समयमा ऋणको साँवाब्याज चुक्ता नगर्दा सहकारी संस्थाहरुमा समस्या देखिएको उल्लेख गर्दै गाउँपालिकाले ऋण नतिर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।
गाउँपालिकाले समयमै ऋणको किस्ता तिरेर सहकारी संस्थामा देखिएको समस्या समाधान गरिदिन अनुरोध गरेको छ । कतिपयले ऋण तिर्न नपर्ने भन्दै भ्रामक र गैरजिम्मेवारी अभिव्यक्ति दिइरहेको जानकारी गराउँदै गाउँपालिकाले त्यस्तो अभिव्यक्तिको पछाडि नलाग्न सूचित गराएको छ ।
‘सहकारी संस्थाबाट सदस्यहरुको बचत रकम नै कर्जाको रुपमा प्रवाह हुने र ऋणी सदस्यहरुले समयमा नै आफूले भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज विभिन्न बहानाबाजी एवम् केही पक्षको सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्नेजस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरुको बचत फिर्ता गर्न सहज परिस्थिति सिर्जना भएको भन्ने गुनासो आएको छ’, सूचनामा भनिएको छ ।
त्यस्तै, गाउँपालिकाले ऋण चुक्ता नगर्ने ऋणीहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राखिने जारी विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू