गृहमन्त्रीविरुद्धको मुद्दामा सुनुवाई सकियो, आजै आदेश आउने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई सकिएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको १० नम्बर इजलासमा पेसी तोकिएको मुद्दाउपर सुनुवाई सकिएको छ । उक्त मुद्दामा आदेश आजै आउने बताइएको छ ।
सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले सो मुद्दाउपर आजै आदेश आउने सम्भावना रहेको बताए । ‘सुनुवाई सकिसकेको छ । आजै आदेश आउने सम्भावना देखिएको छ’, उनले भने ।
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दर्ता गरेका थिए । यसअघि दुइ पटक लगातार न्यायाधीश सुनिल पोखरेलको इजलासमा पेशी परेको मुद्दाको सुनुवाई स्थगित भएको थियो ।
रिटमा लामिछानेलाई तत्काल निलम्बन गरेर सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न माग गरिएको छ । यस्तै, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सहकारी ठगीमा ‘क्लिनचिट’ दिएर संविधान, फौजदारी कसूर र सहकारीमा रहेका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई संकुचन गरेको रिटमा दाबी छ ।
भविष्यमा समेत यस प्रकारको पत्र जारी गरी फौजदारी न्याय प्रणालीलाई कमजोर बनाउने र प्रभावित गराउनसक्ने भएकाले महान्यायाधिवक्ताको पत्रको कानुनी आधारसमेत नभएकाले उत्प्रेषणको आदेशले बदर माग गरिएको हो ।
टिप्पणीहरू