सूर्यदर्शनको प्रतिवेदन छानबिनमा प्रहरीको आलटाल

सूर्यदर्शनको प्रतिवेदन छानबिनमा प्रहरीको आलटाल

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रतिवेदन गुपचुप पारिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदनमाथि छानबिन गर्न आलटाल गरेपछि ‘दालमा केही कालो’ भएको अनुमान लगाइएको छ । 

पोखरा महानगरपालिकाले प्रतिवेदन बुझाएको एक महिना हुन लागिसक्दा पनि प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन् । महानगरले गत वैशाख २७ गते तीन हजार ४१९ पृष्ठ लामो प्रतिवेदन कास्कीका डिएसपी वसन्तकुमार शर्मालाई बुझाएको थियो ।

मेयर धनराज आचार्यसहित उपमेयर मञ्जुदेवी गुरुङ्गको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले प्रतिवेदन प्रहरीको जिम्मा लगाएका थिए । सो प्रतिवेदनमा के छ ? भन्ने महानगरले खुलाएको छैन् । यसपटक पहिलेको भन्दा विस्तृत अध्ययन भएको महानगरको भनाइ छ । 

विशेषज्ञका रुपमा नियुक्त एफसीए अनिल लामिछाने, सहकारी विज्ञ दीपकप्रकाश आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा, महानगर सहकारी व्यवस्थापन समितिलगायतले लामो समय लगाएर तयार पारेको सो प्रतिवेदनमा लामिछानेको संलग्नता पुष्टि हुने कागजातहरु रहेको स्रोत बताउँछ ।

उनले हस्ताक्षर गरेका कागजातहरु पनि भेटिएको स्रोतको भनाइ छ । स्रोतले भन्यो,‘प्रतिवेदनमा लामिछानेको संलग्नता पुष्टि हुने धेरै कागजात छन् । उनले सिग्नेचर गरेका कागजातहरु पनि फेला परेको छ । प्रतिवेदन बुझाउने बेलामा उहाँहरुले तत्काल कारबाही प्रक्रिया अगाडि बढाउँछौं भन्नुभएको थियो । तर, अहिलेसम्म नबढाइएकोमा आश्चर्यचकित लागेको छ ।’

कास्कीका डिएसपी शर्माले सूर्यदर्शनको प्रतिवेदन नै नखोलेको बताए । सो प्रतिवेदनमाथि छानबिन शुरु नै नभएको उनको भनाइ छ । ‘हामी अहिले अर्को सहकारीको अनुसन्धान गरिरहेका छौं । त्यो रनिङमा भएकाले सूर्यदर्शनको प्रतिवेदनको पोको नै खोल्न पाएको छैन् । पहिले यो सकाउँछौ, अनि मात्र सूर्यदर्शनको छानबिन अगाडि बढ्छ’, उनले भने । 

महानगरको सहकारी शाखाले यसअघि पनि सूर्यदर्शनको वित्तिय अवस्थाबारे अध्ययन गरेको थियो । शाखाले अध्ययन गरेर बुझाएको प्रतिवेदनमा लामिछानेको नाम पनि किटान गरिएको छ । जिबी राई अध्यक्ष रहेको ‘ग्यालेक्सी फोर–के’ टेलिभिजनको नाममा उनले सहकारीबाट रकम लिएको प्रतिवेदनमा उल्लेख छ । 

तर, लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । आफूले सहकारीबाट पैसा नलिएको दाबी गर्दै आएका उनीविरुद्ध थुप्रै प्रमाण भेटिएपनि प्रहरीले जोगाइराखेको अवस्था छ । सूर्यदर्शनका सहकारी पीडितहरुले भने लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग राख्दै आएका छन् । एकपछि अर्को गर्दै उनको संलग्नता पुष्टि हुने कागजातहरु छताछुल्ल भएपछि पीडितहरुले उनीमाथि पनि छानबिन हुनुपर्ने बताएका हुन् ।

सहकारीका पूर्वअध्यक्ष तथा वर्तमान संरक्षक राई फरार छन् । उनीविरुद्ध इन्टरपोल नोटिस् जारी भएको छ । उनी मलेसियामा रहेको भनिएपनि प्रहरीले फेला पार्न सकेको छैन् । उनका दाइ पूर्वअध्यक्ष भूपेन्द्र राईसँगै वर्तमान अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, वर्तमान सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, सदस्यहरु हेमन्त अधिकारी, कविता तामाङ्गलगायतविरुद्ध मुद्दा दर्ता छ । 

सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन् । उनीहरुविरुद्ध सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताको १६ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । कास्की प्रहरीले गत भदौमा सूर्यदर्शन सहकारी पीडितहरुसँग उजुरी आह्वान गरेको थियो । सहकारीका पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध एक हजार ३६ जनाले उजुरी दिएका थिए । 

बचतकर्ताले सो सहकारीमा संकलन गरेको एक अर्ब ११ करोड एक लाख रुपैयाँ ठगी गरेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा प्रहरीले प्रतिवेदन बुझाएको थियो । त्यस्तै, सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको थियो । त्यतिबेला पनि बचतकर्ताहरुले लामिछानेसहित अन्यलाई पनि प्रतिवादी बनाउन माग गरेका थिए । 

राई समूहले सहकारीमा जम्मा भएको बचत विभिन्न कम्पनीसहित मिडियामा लगानी गरेको खुलेको छ । नेचर हर्ब्स इन्टरनेशनल, नेचर नेष्ट, स्प्रिङ उड, ग्रिजी स्पोन, गोर्खा ग्रुप अफ कम्पनी, गोरखा मिडिया नेटवर्कजस्ता कम्पनीमा समूहले सहकारीको रकम लगानी गरेका हुन् ।
 

टिप्पणीहरू