बुटवलमा भोलि र पर्सि ‘श्रमाधान रोजगार मेला’
बुटवलमा भोलि र पर्सि श्रमाधान रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारीसँग जोड्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलाको आयोजना गर्न लागेका हुन् ।
मेलामा ४० वटा स्टल रहने उपमहानगरका मेयर खेलराज पाण्डेयले बताए । औद्योगिक प्रतिष्ठानहरुले मेलामार्फत रोजगारीमा प्रवेश गर्ने बाटो खोलिदिने उनको भनाइ छ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि मेला सहायक सिद्ध हुने उनको विश्वास छ ।
‘मेलामा सीप विकास, कार्यशाला, नेटवर्किङ सत्र, स्टलहरु र रोजगारीका अवसरबारे प्यानल डिस्कसनहरु हुनेछन् । त्यहाँ ४० वटा स्टल हुन्छ । जसमा बायोडाटा निर्माण सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरु, वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरु रहनेछ’, उनले भने ।
त्यस्तै, उनले रोजगार मेलाले मुलुकको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्ने पनि बताए । श्रम कार्यालयका प्रमुख कृष्णप्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीका लागि सहजीकरण गरिने जानकारी दिए ।
मेला बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) मा हुनेछ । त्यहाँ सुरक्षित आप्रवासन, रोजगार तथा रोजगारीको खोजी गर्नेहरुको आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरिनेछ ।
पछिल्लो समय मुलुकमा बेरोजगारीको समस्या बढ्दो छ । युवापुस्ताले सबैभन्दा बढी बेरोजगारीको चुनौती सामना गरिरहेका छन् । यसलाई मध्यनजर गर्दै सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको छ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
टिप्पणीहरू