मोदीको हिन्दुत्वको नारा हिन्दुबाटै अस्वीकृत, अयोध्यामै बिजेपीको कन्तबिजोग

मोदीको हिन्दुत्वको नारा हिन्दुबाटै अस्वीकृत, अयोध्यामै बिजेपीको कन्तबिजोग

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको हिन्दुत्वको नारा हिन्दु मतदाताले नै अस्वीकार गरेका छन् । लोकसभाको जारी मतगणनाको परिणामले त्यस्तो देखाएको हो । 

हिन्दु मतदातालाई आकर्षित गर्न चुनावको पूर्वसन्ध्यामा मोदीले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठान गराएका थिए । तर, मत गणनाको पछिल्लो परिणामअनुसार अयोध्यामै भाजपाका उम्मेदवार पछि परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

नेपालसँग सीमा जोडिएको र लोकसभामा धेरै ८० सिट रहेको उत्तर प्रदेश हिन्दु मतदाता धेरै भएको प्रदेश पनि हो । भाजपाको गढ मानिने यस प्रदेशमा सन् २०१९ को चुनावमा उसले एक्लै ७४ सिट जितेको थियो । यसपटक भने अहिलेसम्मको परिणाम हेर्दा यसअघि जितेका आधाभन्दा बढी सिट गुमाउने देखिन्छ । हालसम्म यहाँका १२ सिट जितेको भाजपा नेतृत्वको एनडीए गठबन्धन २३ सिटमा मात्रै अगाडि छ । 

हिन्दु बहुल क्षेत्र बिहार,पन्जाब, महाराष्ट्र लगायतका प्रदेशमा पनि बिजेपीलाई धक्का लागेको छ । बिहारमा ४ जितसहित भाजपा गठबन्धनले २६ सिटमा अग्रता लिइरहेको छ । अघिल्लो निर्वाचनमा उसले ३९ सिट जितेको थियो । अन्तिमसम्म यही स्थिति कायम रहे बिहारमा भाजपालाई ९ सिट क्षति हुने देखिन्छ ।  

त्यस्तै, अहिलेसम्म ५ जित र १३ सिटमा अग्रता बनाएको भाजपालाई महाराष्ट्रमा २३ सिट घाटा हुने देखिंदैछ । अघिल्लो निर्वाचनमा उसले यहाँका ४१ सिट जितेको थियो । पश्चिम बंगालको परिणाम पनि भाजपा प्रतिकूल आइरहेको छ । सन् २०१९ मा १७ सिट जितेको उसले यसपटक अग्रता लिएका ११ स्थान सुरक्षित गर्न सके पनि ६ सिट नोक्सान हुने पक्का छ । 

यसअघि जितेका दुवै सिट गुमाएको भाजपा पन्जाबमा शून्य भएको छ । मत परिणामले हरियाणामा पनि उसलाई पाँच सिट क्षति हुने देखिंदैछ । अघिल्लो चुनावमा १० सिट जितेको यस प्रदेशमा अहिले ४ जित र १ क्षेत्रमा अग्रता छ । गुजरातमा १ सिट घाटा लागेको छ । 

यता, कर्नाटकामा १७ सिट जितेको भाजपाले ९ सिट गुमाएको छ । मणिपुरमा उसले जितेका दुवै सिट यसपटक कांग्रेसको पोल्टामा पुगेको छ ।  
यही हिसाबले मत परिणाम आए भाजपाले कम्तिमा ५० देखि ६० सिट गुमाउने निश्चित छ । उसले यसअघि एक्लै ३०३ सिट जितेको थियो । यसपटक भने २४० आसपास खुम्चिने अहिलेसम्मको मत गणनाको स्थितिले देखाउँछ, जुन एकल बहुमतको सरकार बनाउन पर्याप्त संख्या होइन ।  

भारतको लोकसभामा ५४३ सिट छ । बहुमतका लागि २७२ सिट चाहिन्छ । यद्यपि एनडीएले १५६ जित र १३४ सिटमा अग्रता लिएकाले तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्ने मोदीको योजना भने पूरा हुने देखिन्छ ।
 

टिप्पणीहरू