सुमनाको कुराले ओलीसँग रवि रिसाए
शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले आपत्ति प्रकट गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्री श्रेष्ठप्रति ओलीको टिप्पणीलाई आफ्नो पार्टीले गम्भिर रुपमा आपत्ति जनाएको जानकारी दिएका हुन् । गृहमन्त्री लामिछानेले अन्तरदेशीय विवाहलाई पितृसत्ताले अझै स्वीकार गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘पितृ सत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय विवाहका लागि लड्नुपर्ने थियो । आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन', उनले भने, 'त्यसैले कयौं टिप्पणीहरु आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौँ ।'
विवाह व्यक्तिको नितान्त निजि मामला भएकाले अनावश्यक टिप्पणी गर्न नहुनेमा जोड दिएका लामिछानेले अगाडि भने, ' तपाईलाई कोसँग माया गर्नुछ, तपाईले कोसँग विवाह गर्नुहुन्छ, त्यो तपाईको व्यक्तिगत निर्णय हो । त्यो निर्णयको सम्मान गर्ने बाहेक अरुले त्यसमा केही पनि गर्न सक्दैन ।'
अन्तरजातीय विवाहका लागि कुनै बेला लडाई गर्नुपरेको बताएका उनले एमाले अध्यक्ष ओलीप्रति इंकित गर्दै अहिले अन्तरदेशीय विवाह स्वीकार्न नसकेको बताए । अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेकाले टिप्पणी आइरहेको लामिछानेको तर्क छ ।
ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षामन्त्री तथा रास्वपा नेतृ सुमनालाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रास्वपाले आज संसदमा पनि कुरा उठाएको थियो ।
टिप्पणीहरू