दलका कार्यकर्तालाई प्राकृतिक विपद्मा स्वयम्सेवी बनाउन गृहमन्त्रीको प्रस्ताव

दलका कार्यकर्तालाई प्राकृतिक विपद्मा स्वयम्सेवी बनाउन गृहमन्त्रीको प्रस्ताव

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पार्टीहरुलाई प्राकृतिक विपद्का बेला कार्यकर्तालाई स्वयंसेवीका रुपमा खटाउन प्रस्ताव गरेका छन् । 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धमा आज प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग अन्तरक्रिया गर्दै उनले उक्त प्रस्ताव राखेका हुन् । त्यसक्रममा गृहमन्त्री लामिछानेले राजनीतिक दललाई स्वयंसेवामा खटिने व्यक्तिहरुको जानकारीसहितको विवरण यसै महिनाको अन्तिमसम्ममा उपलब्ध गराउन आग्रहसमेत गरे । 

मनसुनजन्य विपदमा स्वयंसेवकहरुको आवश्यक पर्ने उल्लेख गर्दै गृहमन्त्रीले दलहरुले आफ्नो तर्फबाट दिने स्वयंसेवक संख्यालाई हेरेर मन्त्रालयले ठोस योजना बनाउने जानकारी पनि दिएका छन् । 

‘सम्पूर्ण राजनीतिक दलहरुलाई एउटा प्रस्ताव म के राख्न चाहन्छु भने–आउँदै गरेको मनसुनजन्य विपद्का लागि गृह मन्त्रालयले स्वयंसेवकको रुपमा तपाईको राजनीतिक दलबाट कति संख्यामा साथीहरुको अपेक्षा गर्नसक्छौँ होला ?’, उनले भने, ‘तीमध्ये कति राहत, उद्धारमा अनुभव भएका हुनुहुन्छ होला भन्ने कुराको डिटेल यो महिनाको अन्त्यसम्म प्राप्त हुन सक्यो भने हामीले बनाउने योजनामा त्यसको असाध्यै ठूलो भूमिका हुन्छ ।’

गृहमन्त्री लामिछानेले प्राकृतिक विपद्का बेला प्रभावकारी काम गर्नका लागि राजनीतिक दलहरुको साझा मञ्च बनाउनु आवश्यक रहेको भन्दै यसतर्फ पनि सरकारले सोचेको बताए । 

‘असोज १९ सम्मका लागि सम्पूर्ण राजनीतिक दलहरुले हामीले अपेक्षा गर्नसक्ने यहाँहरुले भन्ने बितिक्कै उपलब्ध गराउन सक्ने जनशक्तिबारे जानकारी गृह मन्त्रालयलाई दिनुभयो भने एकीकृत रुपमा गर्न खोजेको योजनाको लागि मद्दत हुनजान्छ’, उनले प्रस्ताव गर्दै भने ।

टिप्पणीहरू