कांग्रेसले बालेनलाई समर्थन गर्दा एमाले क्रुद्ध

कांग्रेसले बालेनलाई समर्थन गर्दा एमाले क्रुद्ध

देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) साहको पक्ष-विपक्षमा उभिएका छन् । गिरीबन्धु प्रकरणमा अदालतको फैसलापछि एमाले अध्यक्ष केपी ओली र बलेनबीच टसल परिरहँदा यस्तो स्थिति बनेको हो ।  

आज प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरुले बालेनको पक्षमा उभिँदै एउटा स्थानीय तहको प्रमुखसँग जोरी खोज्ने एमाले अध्यक्षको शैली बिल्कुल बेठिक भएको तर्क गरेका थिए । एमालेका सांसदले संसद बाहिरबाट कांग्रेसलाई जवाफ फर्काएका छन् । 

एमाले प्रमुख सचेतक महेश बर्तौलाले बालेनको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालामाथिको अपमान भएको टिप्पणी गरे । बालेनका गतिविधि स्वभाविक नभएको दाबी गर्दै उनले चर्को असन्तुष्टिसमेत जनाएका छन् । 

सामाजिक सञ्जालमा स्टाटस लेखेर मेयर बालेनले समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरिरहेको बर्तौलाको आरोप छ । लोकतन्त्रका लागि लडेको नेताहरुको अपमान हुनेगरी गरिएका बालेनका टिप्पणी एमालेले स्वीकार नगर्ने पनि उनले प्रष्ट पारे । 

'शीर्षस्थ नेताहरु जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरुले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रस्तुति मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली काँग्रेसका महामन्त्रीज्यूले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो', बर्तौलाले भने । 

न्युरोडको फुटपाथ विस्तारको कुरासँग जोडेर केही दिनअघि बालेनले एमाले अध्यक्ष ओलीको विरोधमा फेसबुक स्टाटस लेखेका थिए । स्टाटसमा गिरीबन्धु टि-स्टेटको जग्गा सट्टाभर्नाको निर्णय गरेर ओली नेतृत्वको तत्कालीन सरकारले नीतिगत भ्रष्टाचार गरेको दाबी गरिएको थियो । 

यो प्रकरणमा ओलीलाई जेल हाल्नुपर्ने आसयत झल्किने उक्त स्टाटसपछि एमालेपंति बालेनसँग क्रुद्ध छ भने कांग्रेसीहरु चैं उत्साहित देखिन्छन् ।

टिप्पणीहरू