फिर्ता बोलाइएका राजदूत प्रधानमन्त्रीलाई लिन विमानस्थलमा

फिर्ता बोलाइएका राजदूत प्रधानमन्त्रीलाई लिन विमानस्थलमा

सरकारले बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकपछि विश्वका ११ मुलुकमा रहेका आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ । त्यसमा भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा पनि छन् । उनलाई फिर्ता बोलाइएको आज अपरान्ह ७२ घण्टा हुँदैछ। 

आजै साँझ उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा राजदूतको हैसियतमा सहभागी हुने कार्यक्रम छ । यता,उनै राजदूतलाई फिर्ता बोलाएर आज दिउँसो नयाँ दिल्ली पुग्न लाग्नुभएका प्रधानमन्त्री स्वयम् पनि सोही कार्यक्रममा उपस्थित हुने कार्यक्रम छ । 

त्यसअघि प्रधानमन्त्रीलाई स्वागत गर्न राजदूत शर्मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दैछन् । पूर्व कूटनीतिज्ञहरुले सरकारले फिर्ता बोलाउने निर्णय गरेलगत्तै कुनैपनि राजदूतको हैसियत स्वतः निवर्तमान हुने भएकाले सम्बन्धित व्यक्तिले पनि अन्य मुलुकको औपचारिक कार्यक्रममा सहभागी हुनु शोभनीय नहुने बताएका छन् । 

राजदूत शर्माले भने नेपाली राजदूतकै हैसियतमा आफू राष्ट्रपति भवन जाने औपचारिक जानकारी दिइसकेका छन् । एकातिर फिर्ता बोलाउने प्रधानमन्त्री र अर्कोतिर पदमुक्त भइसकेका राजदूतको प्रतिनिधित्व आज साँझ नयाँ दिल्लीमा हुन लागेको मोदीको शपथग्रहण समारोहमा देखिने पक्कापक्की छ ।
 

टिप्पणीहरू